सोरेङः प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको मेरी माटी मेरा देश अभियानको सिक्किममा मुख्यमन्त्री पीएस तामाङले आइतवारदेखि आरम्भ गरेका छन्। आगामी तीस अगस्तसम्म चल्ने यस अभियान अन्तर्गत देशको स्वतन्त्रता र सुरक्षाको निम्ति योगदान दिने बीर सपुतहरूलाई सम्मान जनाउने साथै विभिन्न ग्राम पञ्चायतबाट अमृत वाटिका निर्माणका लागि माटो सङ्ग्रह गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले आज पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत च्याखुङ ग्राम पञ्चायतबाट अभियानको शुभारम्भ गरे। यस अवसरमा मुख्यमन्त्रीले ग्राम देश सुरक्षाको निम्ति महत्वपूर्ण योगदान पुऱ्याएका पूर्व सैनिक दावा भोटियालाई अभिनन्दन जनायो। यसै अवसरमा उनले च्याखुङ स्कूल प्राङ्गणमा निर्माण गरिएको शिल्पलकमको अनावरण गरे।
यस अवसरमा मुख्यमन्त्रीले च्याखुङ ग्राम पञ्चायतका विभिन्न वार्डहरूबाट सङ्ग्रह गरिएको माटोलाई हातमा लिएर मानिसहरूलाई मेरी माटी मेरा देश अभियानको शपथ ग्रहण गराए। यसपछि मुख्यमन्त्रीले सोरेङ जिल्लाकै मेन्दु गाउँमा निर्माण गरिने सिक्किम जैविक कृषि विश्वविद्यालयको भूमि पूजन साथै शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै मेन्दुगाउँमा निर्माण हुने सिक्किम जैविक कृषि विश्वविद्यालय राज्यको जैविक कृषि क्षेत्रलाई अन्तरराष्ट्रिय स्तरमा ब्राण्डिङ गराउन थम मदद पुऱ्याउने बताए। यस विश्वविद्यालयबाट स्थानीय साथै राज्य बाहिरबाट आउने विद्यार्थीहरूले कृषि क्षेत्रमा उच्च शिक्षा हासिल गर्नसक्ने विश्वास व्यक्त गर्दै आगामी एक वर्षभित्र यस विश्वविद्यालयको संचालन शुरू हुने बताए।
सिक्किम सरकारले विश्वविद्यालय निर्माणको निम्ति केही जमीन उपलब्ध गराएको छ भने क्याम्पस र विश्वविद्यालयकै थप पूर्वाधारका निम्ति जमीनको आवश्यकता रहेको विश्वविद्यालय पक्षले जानकारी दिएको छ। यता सिक्किमको जैविक ब्राण्डिङलाई एसकेएम सरकारले निजी कम्पनीलाई बेच्यो भन्ने सम्बन्धमा विपक्षी पार्टीले दिएको बयानबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्रीले सिक्किमको जैविक ब्राण्डलाई कसैले पनि किन्न नसक्ने बताए। सिक्किमले परम्पराकालदेखि नै जैविक खेती गर्दै आएको र पूर्व सरकारले यसैलाई ब्राण्डिङमात्र गरेको थियो भन्दै यसै ब्राण्डिङलाई अघि बढाउन जैविक विश्वविद्यालयले सहयोग पुऱ्याउने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे।









