डेभलपमेन्ट प्राथमिक पाठशालाको स्वर्ण जयन्ती कार्यक्रमको उद्घाटन

00-1-A-IMG-20230813-WA0263

कालेबुङ: मंगलडाँडा स्थित डेभलपमेन्ट प्राथमिक पाठशालाले आफ्नो स्थापनाको ५० वर्षमा टेकेको छ।  यस अवसरमा १२ अगस्तको दिन स्वर्ण जयन्ती उद्धघाटन कार्यक्रम सम्पन्न भयो। पाठशाला परिसरमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थापक शिक्षिका इन्द्रकला तामाङले गरेकी थिइन्। कालेबुङ सघन क्षेत्र प्राथमिक पाठशाला निरीक्षक अङ्किला भोटिया मुख्य अतिथि रहेको उक्त कार्यक्रममा भूतपूर्व शिक्षिकाद्वय शुशिला गुरूङ अनि हेन्ड्रीलता लेप्चा विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। राष्ट्रिय झण्डा मुख्य अतिथिले उत्तोलन गरेपछि पाठशालाका नानीहरूले मार्च पार्स्ट गरे जसको सलामी मुख्य अतिथिले ग्रहण गरिन्। कार्यक्रमको मुख्य आकर्षण विभिन्न पाठशालाहरूलाई लिएर सम्पन्न अन्तर पाठशाला बस् अनि चित्र बनाऊ प्रतियोगिता थियो। उक्त प्रतियोगितालाई दुई वर्गमा विभाजन गरिएको थियो। प्राक-प्राथमिकदेखि दोस्रो श्रेणीसम्म एउटा वर्ग अनि तेस्रो श्रेणीदेखि पाँचौँ श्रेणीसम्म अर्को वर्ग।  प्रथम वर्गमा पहिलो अनि दोस्रो दुवै सन्त फिलोमिना कन्या उच्चतर माध्यमिक विद्यालयका क्रमश: सृष्टि राई र सोफिया राई अनि तेस्रो चम्पामाया प्राथमिक पाठशालाका निमा तामाङ भए।  दोस्रो वर्गमा पनि सन्त फिलोमिना पाठशालाकै पुनुमित लेप्चा र युलामेन लेप्चा क्रमश: पहिलो र दोस्रो भए भने हिन्दी विद्यालयका विराज श्रेष्ठ तेस्रो भए। यस प्रतियोगितामा सन्त फिलोमिना प्राथमिक पाठशाला, चम्पामाया प्राथमिक पाठशाला, हिन्दी विद्यालय, सरकारी निम्न बुनियाद पाठशाला, ७ माइल प्राथमिक पाठशाला, ज्ञानकूल प्राथमिक पाठशाला अनि आयोजक डेभलपमेन्ट प्राथमिक पाठशालाहरूले अङ्स ग्रहण गरेका थिए। 

कार्यक्रममा अन्तर पाठशाला खेलकुद प्रतियोगिता पनि सम्पन्न भयो। विभिन्न प्रतियोगितामा विजय प्रतियोगितालाई अतिथिहरूको बाहुलीबाट पारितोषिक वितरण गरियो।  यस कार्यक्रम आयोजना गर्न पाठशालाका भूतपूर्व विद्यार्थीहरूको सङ्गठनले प्रमुख भूमिका निर्वाह गरेको प्रधान अध्यापक उदय प्रधानले बताए।  यो कार्यक्रम उद्धघाटन कार्यक्रम मात्र रहेको र आगामी नोभेम्बर-दिसम्बरमा भव्य कार्यक्रम आयोजन गरेर समापन गरिने उनले थप बताए। भूतपूर्व शिक्षिकात्रेयले पाठशाला स्थापना अनि पाठशालामा बिताएका पलहरूको स्मरण आ-आफ्नो सम्बोधनमा राखे। भूतपूर्व विद्यार्थी इन्द्र गजमेर अनि शिक्षिका किरण छेत्रीद्वारा सञ्चालित उक्त कार्यक्रममा धन्यबाद ज्ञापन भूतपूर्व विद्यार्थी कृष्णदेव छेत्रीले राखे। अङ्स ग्रहणकारी पाठशालाका प्रधान अध्यापक-प्रधान अध्यापिका, शिक्षक-शिक्षिका, अभिभावक, स्थानीय समाजका पदाधिकारी अनि गाउँलेहरूको बाक्लो उपस्थिति थियो।

About Author

Advertisement