गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज देउरालीको दु- द्रुल छोर्तेन गुम्बामा गुरू रिम्पोछे थ्रुङकारको जन्म दिवस उत्सवमा सहभागिता जनाए। सिक्किम बुद्धिस्ट दुछेन र सिक्किम बुद्धिस्ट एसोसिएशनको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा धर्मगुरू थोगमे टुल्कु लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस पवित्र क्षणमा आफूले गहिरो आध्यात्मिक अनुभव गरेको र एक सामंजस्यपूर्ण र उत्थान प्रकारले समुदायलाई एक साथ ल्याएकोमा मुख्यमन्त्री तामाङले खुशी प्रकट गरेका छन्। कार्यक्रममा गुरू पद्मसम्भवको भव्य ३८ फिट लामो थाङ्का जडान गरियो जसले यस अवसरको भव्यता र आध्यात्मिक महत्त्वलाई अझ मजबुत बनाएको बताएका छन्। उक्त कार्यक्रममा मुख्यमन्त्रीले सिक्किमे जनताको जीवनमा शान्ति, समृद्धि र कल्याणको लागि हार्दिक प्रार्थना पनि गरे।










