वर्षा प्रभावित क्षेत्रको निरीक्षणमा मन्त्री केएन लेप्चा र जेकब खालिङ

IMG-20230629-WA0376.jpg

गान्तोक: मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, क्षेत्र विधायक सुनिता गजमेरले आज जोरथाङ बजारस्थित माझीगाउँको निरीक्षण गर्दै त्यहाँको स्थितिको जायजा लिए। गत केही दिन अघिदेखि निरन्तर परेको पानीले राज्यको विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याएको छ। यसै क्रममा जोरथाङको माझी गाउँमा पनि राम्बाङ खोलामा पानीको जलास्तर बढेपछि स्थानीय गाउँलाई प्रभावति तुल्याएको छ। खोलाको चपेटमा परि चारवटा घरलाई विशेष प्रभावित बनाएको छ भने हाल उनीहरूलाई सुरक्षित स्थानमा लगिएको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले जानकारी गराएका छन्। उनले थप जानकारी गराए अनुसार सरकारको तर्फबाट प्रभावित परिवारालई सबै प्रकारको सहयोग प्रदान गरिने भएको छ। यो प्रकृतिक प्रकोपको चपेटमा परि विचल्नी बनेका उक्त गाउँका मानिसहरूलाई खालिङले नत्तालिने आश्वासन दिएका छन्। सरकार र प्रशासनको पहलमा यस खोलाको किनारमा सुरक्षा पर्खाल लगाउने कार्य शीघ्र शुरू गरिने र गाउँलाई सुरक्षित राख्न सरकारले प्राथमिकता दिइने बताए। उल्लेखनीय छ, हिजो राति एक बजी स्थानीयहरूले नदीको जलास्तरमा वृद्धि भएको थाह पाएपछि राति नै सुरक्षित स्थानमा गएका छन्। विशेष गरेर उक्त गाउँको सडक खोलाको चपेटमा परेर भत्किएको छ भने यसलाई सुचारूपमा सञ्चालन गर्नमा केही समय लाग्न सक्ने उनले सम्भावना व्यक्त गरेका छन्। यसै क्रममा उनले प्रभावित परिवारहरूसँग पनि अन्तक्रिया गर्दै सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गरिने आश्वासन दिए। मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देश बमोजिम आफू यस स्थानमा निरीक्षण गर्न आएको अवगत गराए। स्थानीयहरूले जानकारी गराए अनुसार गाउँका मानिसहरू नदीमा जलास्तर बढेपछि सुत्न पाएका छैनन्। यस घटनाको जानकारी पाउनसाथ क्षेत्र विधायक सुनिता गजमेर, जिल्लापाल नाम्ची एम भरानी कुमार,महकुमा अधिकारी लगायत सम्वन्धित निकायका अधिकारीहरूले घटनास्थलको निरीक्षण गर्दै यसको रोकथामका उपायबारे कार्य शुरू गरेको बताएका छन्। यदि निरन्तर पानी परेको खण्डमा माझीगाउँलाई ठूलो क्षति पुग्न सक्ने गाउँलेहरूले सम्भावना व्यक्त गरेका छन्। यसै क्रममा क्षेत्र विधायक सुनिता गजमेरले स्थानीयहरूको सुरक्षालाई लिएर आफू गम्भीर रहेको बताउँदै कुनै पनि परिस्थितिमा स्थानीयहरूको सुरक्षामाथि खेलवाड नगरिने बताइन्।

वर्तमान राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पनि यस घटनाबारे अवगत गराइसकेको बताइन्। पत्रकारहरूसँग कुराकानी गर्दै विधायक गजमेरले आजदेखि नै सुरक्षा पर्खाल लगाउनको निम्ति पहल शुरू गरिने जानकारी गराइन्। सोही प्रकारले राज्यका मन्त्री केएन लेप्चाले पनि आज नै जोरथाङस्थित माझीगाउँको भ्रमण गरे। विशेष गरेर उक्त गाउँमा केही दिन अघिदेखि निरन्तर परेको पानीले माझी गाउँको केही घरहरू नदीको चपेटमा परेपछि वास्तविकता बुझ्ने उद्देश्यले मन्त्री लेप्चाले भ्रमण गरेका हुन्।

About Author

Advertisement