पाक्योङ: सिक्किम सरकारका माननीय मुख्यमन्त्रीका अतिरिक्त व्यक्तिगत सचिव (एपीएस) विशाल शर्माले आज पाक्योङमा निर्माणाधीन नयाँ जिल्ला प्रशासनिक केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको छ। परियोजनाको पछिल्लो प्रगति र कार्यसम्पादनको अवस्थाबारे जानकारी लिन उहाँले उक्त क्षेत्रको भ्रमण गर्नुभएको हो।
निरीक्षण टोलीमा सामाजिक कार्यकर्ता बी.बी. सुब्बा, सेवानिवृत्त प्रधानाध्यापिका टी.डी. भेन्चुङ्पा, सेवानिवृत्त शिक्षक डी.आर. गुरुङ तथा सेवानिवृत्त सरकारी कर्मचारीहरू क्रमशः डी.बी. गुरुङ र पी.बी. गुरुङको उपस्थिति रहेको थियो। यसका साथै निर्माण स्थलका इन्चार्ज जयन्त, इन्जिनियर कुवेर लुइटेल र सुपरभाइजर किसान गुरुङले टोलीलाई निर्माण कार्यको प्राविधिक प्रगतिबारे अवगत गराउनुभएको थियो।
निरीक्षणका क्रममा एपीएस शर्मासहितको टोलीले निर्माण कार्यलाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। यो नयाँ प्रशासनिक केन्द्र निर्माण सम्पन्न भएपछि एउटै छानामुनि विभिन्न सरकारी विभागहरू रहनेछन्। सले गर्दा सर्वसाधारणले झन्झटरहित रूपमा प्रशासनिक सेवाहरू छिटो र छरितो माध्यमबाट पाउन सक्ने र पाक्योङ जिल्लाको समग्र सुशासन एवं सार्वजनिक सेवा प्रवाहमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।










