गान्तोकः सिक्किममा विपक्षी पार्टीले जतिनै सक्रियता देखाए पनि २०२४ मा ३२ सीट नै जितेर एसकेएम पार्टीले सरकार गठन गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले ठोकुवा गरेका छन्। पार्टीको पक्षमा अनुकूल वातावरण नभएको परिस्थितिमा पनि २०१४ मा १० सीट र २०१९ मा १८ जित्न सकेको बताउँदै पाँच वर्षको जनसेवा र अन्य अनुकूल परिस्थितिका कारण एसकेएमलाई २०२४ मा ३२ सीट जित्न कुनै कठिनाइ नरहेको आत्माविश्वास मुख्यमन्त्रीले व्यक्त गरेका छन्। आज सरमासामा आयोजित सारथी सम्मान दिवसको अवसरमा बोल्दै एसडीएफ पार्टीले २०२४ मा सरकार गठन गर्छ भन्ने दाबी मरेका पुर्खा चिहानबाट बौरी उठ्नु जस्तै हो भने। मुख्यमन्त्रीले चुनाउको समय आउँदै गर्दा घुर्की देखाउने पार्टी कार्यकर्ता सरकारी कर्मचारीलाई सचेत गराएका छन्। उनले भने, “हामीले धेरैलाई चेप्ने काम गऱ्यौं, सबैलाई दिल खोलेर सगायौं। तर अब हाम्रै खाएर हामीलाई नै गाली गर्नेलाई छोदैनौ। हाम्रो नीति अब बदलिएको छ। गाईले गाइको बाछा नै चाट्नुपर्छ भन्ने हामीले पनि राम्ररी बुझ्यौं। तपाईंहरूले सायद दयालु र सिधा प्रकारले २०१९ देखि २०२३ सम्म सरकार चलाएको पीएस गोले मात्र देख्नु भएको छ, १९९४-९५ को पीएस गोले देख्नु भएको छैन। अब हामी जसले जस्तो व्यवहार देखाउँछ त्यस्तै काम गर्छौ, टिट फर ट्याट हुन्छ अब।”
मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई र एसडीएफ पार्टीलाई निभ्न लागेको क्याण्डल बताउँदै निभ्न लागेको अवस्थामा चम्किएको मात्र हो भनी बताए। उनले विपक्षीलाई कटाक्ष गर्दै भने, “छाता ओड, क्याप लगाउँ वा सिटी नै बजाउ तर २०२४ मा एसकेएमलाई कसैले रोक्नेवाला छैन। किनभने हामीले गरीब बिरामीको सेवा गरेका छौं, गरीब किसान र चालकलाई सम्मान गरेका छौं उनीहरूले हाम्रो गुण भुल्दैनन्।” विपक्षीको जुनै सभामा पनि एउटै अनुहारका मानिसहरू मात्र रहेका दाबी गर्दै मुख्यमन्त्री जनतालाई भ्रममा नपर्न आह्वान गरे। हालै एसडीएफ पार्टीले पारित गरेका विभिन्न प्रस्तावलाई हास्यस्पद बताउँदै मुख्यमन्त्रीले यसको खुलेर आलोचना गरे। एसडीएफले राज्यसभा र लोकसभा सीट बढाउने भनी पारित गरेको प्रस्तावमाथि कटाक्ष गर्दै २५ वर्ष यसबारे काम नगरेको पार्टीले अहिले जनता डाँट्न यो प्रस्ताव पारित गरेको मुख्यमन्त्रीले बताए। सिक्किमको लोकसभा र राज्यसभा सीट बढाउनेबारे एसकेएम पार्टीले पहल शुरु गरेको र दुईवटा नयाँ जिल्लाको गठन सीट बढाउने क्षेत्रको कदम रहेको बताए। सिक्किम विधानसमा ३३ प्रतिशत महिला सीट आरक्षण माथिको एसडीएफको प्रस्तावलाई पनि मुख्यमन्त्री आलोचना गरे। यस बारेमा एसडीएफले २५ वर्ष के गऱ्यो र २५ वर्षको सरकारकालमा कतिजना महिलालाई टिकट दियो भन्ने मुख्यमन्त्रीले प्रश्न गरे। आईएलपी लागू गर्ने सम्बन्धमा एसडीएफले आफ्नो कार्यकालमा कुनै पहल नगरेको आरोप लगाउँदै राज्यमा आईएलपी लागू गर्ने माग सम्बन्धमा एसकेएम सरकारले अध्ययनका लागि कमिटी गठन गरेको र यसको रिपोर्टबारे छानबिन भइरहेको बताए।
एसडीएफले सरकारी कर्मचारीका लागि पुरानो पेन्सन व्यवस्था लागू गर्ने बारे पारित प्रस्तावलाई मुख्यमन्त्रीले हास्यस्पद बताए। 2006 मा एसडीएफले पुरानो पेन्सन व्यवस्था उडाएर नयाँ नियम लागू गरेको हो भन्दै एसकेएम सरकार पुरानो पेन्सन लागू गर्न प्रतिबद्ध रहेको जसका लागि सरकारले कमिटी गठन गरिसकेको बताए। कमिटीको रिपोर्ट आएपछि सरकारले लागू गर्न तयार रहेको, तर यसका लागि समय लाग्ने मुख्यमन्त्रीले बताएका छन्। संघ सीट दुईवटा बनाउने एसडीएफको प्रस्तावलाई पनि मुख्यमन्त्रीले खुलेर आलोचना गरे। १९९९ को सिक्किम विधानसभा चुनाउमा एसडीएफ पार्टीले संघ सीटमा उम्मेदवार नउठाएर संघ सीटको बहिष्कार गरेको आरोप लगाउँदै पाँचवटा सरकारको कार्यकालमा संघबाट जित्ने एक जना विधायकलाई पनि मन्त्री नबनाएको मुख्यमन्त्री बताए। उनले आफ्नो सरकारमा संघ विधायकलाई ठूलो र जिम्मेवारीपूर्ण विभागमा मन्त्री बनाएर सम्मान दिएको दाबी गरे। एसडीएफ पार्टीले चुनाउ जित्ने परिस्थिति नरहेका कारण जे मनमा आयो त्यही घोषणा गरेको हो भन्ने मुख्यमन्त्री तामाङले आरोप लगाए। लिम्बू तामाङ सीट आरक्षण मुद्दामा एसडीएफ सरकार गम्भीर नरहेकाले अहिलेसम्म उनीहरू सीट पाउनबाट वञ्चित रहेको मुख्यमन्त्री ठोकुवा गरे। २००६ को निर्वाचन क्षेत्र सिमाङ्कनको समय सिमाङ्कन आयोगले लिम्बू तामाङको जनसङ्ख्या सरकारलाई मागेको तर एसडीएफ सरकारले नदिएको कारण सीट नभएको आरोप लगाउँदै एसकेएमले यस बारेमा गम्भीर पहल गरिरहेको बताए। १२ जातिको जनजाति मुद्दामा पनि एसडीएफले ठोस काम नगरेको अनि कर्मापाबारे रोय कमिसनको माध्यमबाट एसडीएफले केन्द्रलाई गतल रिपोर्ट दिएका कारण कर्मापा सिक्किम आउन प्रतिबन्ध लागेको मुख्मन्त्रीले दाबी गरे। यस बाहेक एक भोट एक नोकरी भन्ने एसडीएफको प्रस्तावलाई मुख्यमन्त्रीले असम्भव बताए भने विद्यार्थीलाई मासिक ५००० रुपियाँ दिने घोषणालाई पनि चुनाउमुखी बताए। एसडीएफ लगायत अन्य विपक्षीले जुनै घोषणा गरे तापनि २०२४ मा एसकेएम सरकार निश्चित छ भन्दै सरकार सञ्चालन फरक प्रकारले हुने मुख्यमन्त्रीले बताएका छन्।
-हिस










