मिस युनिभर्समा नेपाल अन्तिम २० मा समेटियो, उपाधि निकारागुआलाई

Screenshot_20231119_195726_Dailyhunt.jpg

काठमाडौं: यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ। मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन्। दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन्। सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन्। तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएको देखिएन। सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए। हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन्। उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ। खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको प्रशंसा खुबै भयो। परिचय, नेसनल कस्ट्युमदेखि स्वीमसुट राउण्डमा उनको उपलब्धि हेर्दा उनी फाइनलिस्ट बन्ने अपेक्षा गरिएको थियो।प्रतिस्पर्धापछि सामाजिक संजालबाट खुशि बाँड्दै दीपिकाले लेखेकी छन्- म संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको स्टेरियोटाइप (परम्परागत मापदण्ड) तोड्न पाउँदा गर्व गर्छु। नयाँ मिस युनिभर्समा धेरै गर्व छ र मेरो जीवनको यो क्षणलाई कदर गर्नेछु।’ नेपालको जस्तै नियति यसपटक भारतको पनि देखियो। भारतकी श्वेता शारदा अन्तिम १० मा छनोट हुन सकिनन्। पहिलोपटक निकारागुआलाई उपाधि
७२ औं मिस युनिभर्सको उपाधि निकारागुआकी सेनिस पलासियोसले जितिन्। दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलोपटक हो। २३ वर्षिया पलासियोस पेशाले टेलिभिजन होस्ट समेत हुन्। उनले आमसञ्चारमा स्नातक उत्तिर्ण गरेकी छन्। थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन्।एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।

About Author

Advertisement