७ जुलाईः भारतीय टेनिस स्टार सानिया मिर्जाले मिश्रित युगल (मिक्स्ड डबल्स)-को सेमिफाइनलमा गत च्याम्पियन नील कुपस्की र डेसिरे क्राजिक विरुद्ध हारको साथ विम्बल्डन टेनिस च्याम्पियनशीपबाट बिदा लिइन्। सानिया र क्रोएशियाका मेट पाविचको छैटौं वरीयता प्राप्त जोड़ीलाई ब्रिटेनका कुपस्की र अमेरिकाकी डेसिरेले ४-६, ७-५, ६-४-ले पराजित गरे। ३५ वर्षीय सानियाको नाममा 6 वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ, जसमा तीनवटा मिश्रित युगल खिताब सामेल छ तर उनले विम्बल्डनमा चाहिँ मिश्रित युगल खिताब जित्न सकिनन्। उनले २००९-मा अष्ट्रेलियन ओपन अनि २०१२-मा महेश भूपतिसँग फ्रेञ्च ओपन अनि २०१४-मा ब्राजीलका ब्रूनो सोरेससँग अमेरिकी ओपनको खिताब जितेकी थिइन्। विम्बल्डनको मिश्रित युगलमा यो सानियाको सर्वश्रेष्ठ प्रदर्शन हो। यसअघि उनी २०११, २०१३ र २०१५-मा क्वार्टर फाइनलसम्म पुगेकी थिइन्। उनले विम्बल्डनमा २०१५-मा मार्टिना हिंगिससँग मिलेर महिला युगल खिताब जितेकी थिइन्। सानियाले अगावै २०२२ सत्रको समापनको साथ खेलबाट सन्न्यास लिने घोषणा गरेकी थिइन्।









