सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा तरुञ्जाबारी फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा शुक्रवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा तरुञ्जाबारी फूटबल क्लबले क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट राजा छेत्रीले १५औं र ७७औं मिनटमा २ गोल गरे। यसरी सीएनएफए-को तर्फबाट पंकज थापाले ४१औं मिनटमा गोल गरे। राजा छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा ईष्ट बेंगल फूटबल एकाडमी राजगञ्ज र जलपाइगढ़ी पुलिस बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।









