मिरिकमा १० सेप्टेम्बर विराट रैली निकालिइने

mir.jpg

मिरिक: चियाबारीवासीलाई पाँच डेसिमल जमिनको मात्र पर्जा पट्टा प्रदान गर्ने विषयलाई लिएर जोइन्ड फोरमसहित चियाबारी श्रमिक सुरक्षा समितिले पनि लगातार विरोध जनाउँदै आइरहेको छ। यसैक्रममा दार्जीलिङ पहाडको ८४ वटा चियाबारीका श्रमिकहरू साथै चिराबारीवासीलाई लिएर मिरिकमा आगामी १० सेप्टेम्बर आइतबारको दिन पाँच डेसिमल जमिनको पर्जा पट्टाको विरोधमा चियाबारी श्रमिक सुरक्षा समितिले एउटा विराट रैलीको आयोजना गर्ने भएको छ। सुरक्षा समितिका केन्द्रिय प्रवक्ता रोजेश थापाले मिरिकमा पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार उक्त मिरिकको रैलीमा अधिवक्ताद्वय बन्दना राई र प्रताप खाती प्रमुख रूपमा उपस्थित रहनेछन्। उक्त रैली मिरिक प्राथमिक स्वस्थ्य केन्द्र परिसरबाट शुरू भएपछि विभिन्न पथहरूको परिक्रमा गर्दै अन्तमा मिरिक बजार सुपर मार्केटमा पुगेर एउटा जनसभामा परिणत हुनेछ। पहाडका समस्त चियाबारीवासीलाई उक्त रैलीमा अंश ग्रहण गरिदिने तिनले अपिल गरेका छन्।

About Author

Advertisement