पहाडमा शिक्षा व्यवस्थामा भएका कतिपय कमी कमजोरीहरूलाई राज्यको नव गठित सरकारले सुधार गरिदिन्छ भन्ने कुरामा आशावादी छौं: अनित थापा
मिरिक: शिक्षा विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह २०२६ आज मिरिकको गोपाल योञ्जन भवनमा सम्पन्न भयो।गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा जीटीए सभाका उपाध्यक्ष राजेश चौहान, शिक्षा विभागका कार्रकारी सभासद सञ्चवीर सुब्बा, डीआई दार्जिलिङ राजीव प्रामाणिक, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक मनोमेन्द्र मोधक, कार्यकारी सभासद अरूण सिंगची, सभासदहरू मिलेश राई,परेश तिर्की लगायत अन्य अतिथिहरु उपस्थित रहेका थिए। जीटीए शिक्षा विभागको आयोजना अनि हेडमास्टर एशोसिएशन अनि संयुक्त माध्यमिक शिक्षक संगठनको सहयोगमा सम्पन्न समारोहमा प्रमुख अतिथि अनि आमन्त्रित अतिथिहरुको बाहुलीबाट माता सरस्वतीको तस्वीरमा दीप प्रज्जवलन गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियोे। समारोहमा स्वागत सम्बोधन हेडमास्टर एशोसिएशनको पक्षमा पीके राईले राखेका थिए। सरकारी विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई प्रोत्साहन जगाउन मेधावी विद्यार्थीहरुलाई सम्मान जनाउँदै माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा टप टेनमा आउने मेधावी विद्यार्थीहरुलाई स्मृति चिन्ह, प्रमाणपत्र प्रदान गरियो। प्रमुख अतिथि अनि अन्य अतिथिहरुको बाहुलीबाट प्रमाण पत्र पनि प्रदान गरिएको थियोे। मेधावी विद्यार्थीहरुलाई सम्मान जनाइयो। उसरी नै जीटीए दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने सम्पूर्ण विद्यालयका माध्यमिक अनि उच्चमाध्यमिक परीक्षामा विद्यालय टप्पर हुने विद्यार्थीहरुलाई सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीएका मुख्य कार्यपाल अनित थापाले विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि जीटीएले यस प्रकारको कार्यक्रम गर्दै आएको बताउँदै सम्पूर्ण विद्यार्थीहरू अनि शिक्षक शिक्षिकागणलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले पहाडमा शिक्षा व्यवस्थामा भएका कतिपय कमि कमजोरीहरूलाई राज्यको नव गठित सरकारले सुधार गरिदिन्छ भन्ने कुरोमा आफू आश्वस्त रहेको पनि बताएका छन्।









