मिरिकमा गोपाल योञ्जनको जन्म जयन्ती पालन

अर्को वर्ष मिरिकमा गोपाल योञ्जनको सालिग निर्माण गरेर जन्म जयन्ती पालन गरिनेछ: सभासद मिलेस राई

मिरिक: जीटीए सूचना एवं सांस्कृतिक विभाग मिरिक अनि गोपाल योञ्जन भक्त समूहको संयुक्त आयोजनामा आज नेपाली संगीत जगतका वरिष्ठ संगीतकार वाग्येकार गोपाल योञ्जनको जन्म जयन्ती नवनिर्मित रंगशाला भवनमा पालन गरियो। संगीतकार मित्र लामाको अध्यक्षतामा सम्पन्न तथा जीटीएका नवनिर्वाचित सभासद मिलेश राईको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रका संगीतप्रेमी दर्शकवर्गको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा गोपाल योञ्जनको स्मृतिमा प्रेक्षगृहको नामकरण मुख्य अतिथि सभासद मिलेश राईले गरेका थिए। यस प्रेक्षागृहलाई नेपाली संगीत जगतका किवदन्ती गोपाल योञ्जनको नाममा राख्न पाउँदा खुशी महसुस भएको तथा यस रंगशाला भवनले कला साहित्य अनि कलाकारहरुलाई उत्कृष्ट मञ्च प्रदान गर्ने बताएका छन्। उनले आगामी वर्ष गोपाल योञ्जनको प्रतिमा स्थापना गरी भव्य रुपमा जन्म जयन्ती पालन गर्ने घोषणा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष वरिष्ठ संगीत संयोजक एवं सङ्गम डिजिटल स्टुडियोका स्वामी एवं गोपाल योञ्जनका शिष्य मित्र लामाले गोपाल योञ्जन नेपाली सङ्गीत जगतका युग पुरुष रहेको दाबी गर्दै उनको साङ्गितिक योगदानबारे जति नै बताए पनि कम हुने धारणा व्यक्त गरे। लामाले वरिष्ठ संगीतकार, गायक गीतकार गोपाल योञ्जन जन्मिएको मिरिकको माटो धन्य रहेको बताउँदै कला साहित्य संगीतको संरक्षण एवं प्रबर्द्धनको दिशामा दार्जिलिङ मिरिकको योगदानलाई भुल्न नसकिने बताए। यसरी नै सूचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी कैलाश राईले वरिष्ठ संगीतकार गोपाल योञ्जनको स्मृतिमा राख्नु पाउनु मिरिक मात्र हैन दार्जीलिङ पहाडको निम्ति खूबै खुशीको कुरा रहेको बताए भने वरिष्ठ साहित्यकार राजबहादुर राईले गोपाल योञ्जनको जीवनीबारे प्रकाश पार्दै उनको साङ्गितिक योगदानलाई कदापि भुल्न नसकिने बताए। अम्बिका थापाद्वारा संटञ्चालित यस कार्यक्रममा सूचना एवं सांस्कृतिक विभाग मिरिकका कलाकारहरुले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

About Author

Advertisement