मिचेल र हेनरीको दममा न्यूजील्याण्डको असाधारण पुनरागमन, ३ विकेट गुमायो श्रीलंकाले

IMG-20230311-WA0115.jpg

११ मार्चः आयोजक न्यूजील्याण्डले ड्यारल मिचेल (१०२)-को असाधारण शतक अनि म्याट हेनरी (७२)-को अर्द्धशतकको सहायताले श्रीलंका विरुद्ध पहिलो टेस्ट म्याचको तेस्रो दिन शनिवार ३७३ रनको स्कोर बनाएर असाधारण पुनरागमन गऱ्यो। न्यूजील्याण्डले आफ्नो घरेलु परिस्थितिहरूमा एक समय त पहिलो ईनिंग्समा १५१ रनमै ५ विकेट गुमाएको थियो तर तल्लो क्रमको उपयोगी योगदानको दममा टीमले अझ २२२ रन थप्यो अनि पहिलो ईनिंग्सको आधारमा १८ रनको सानो तर महत्त्वपूर्ण बढ़त हासिल गऱ्यो। त्यसपछि श्रीलंकाले तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ३ विकेट गुमाएर ८३ रन बटुल्यो। एञ्जेलो म्याथ्यूज २० अनि प्रभात जयसूर्या २ रन बनाएर खेलिरहेका थिए। श्रीलंकासँग अहिले ६५ रनको बढ़त रहेको छ।

कीवि टीमको असाधारण पुनरागमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मिचेलले १९३ बल खेलेर ६ वटा चौका र २ वटा छक्काको साथ १०२ रन बनाए। मिचेलले माइकल ब्रेसवेल (२५) र टिम साउदी (२५)-सँग छैटौं र सातौं विकेटको निम्ति क्रमशः ३७ र ४७ रनको पार्टनरशीप गरे। मिचेल आउट भएपछि हेनरीले मोर्चा सम्हाले अनि ७२ रन बनाएर न्यूजील्याण्डलाई बढ़तको स्थितिमा पुऱ्याए। हेनरीले ७५ बल खेलेर १० वटा चौका र ३ वटा छक्का लगाए। तल्लो क्रममा नील वेगनरले पनि २४ बलमा २७ रन (एउटा चौका, ३ वटा छक्का)-को योगदान दिए।

श्रीलंकाई बलरहरूमा असिता फर्नाण्डोले सर्वाधिक ४ विकेट हासिल गरे जबकि लाहिरु कुमाराको झोलीमा ३ विकेट रह्यो। श्रीलंकाले आफ्नो दोस्रो ईनिंग्समा कप्तान दिमुथ करुणारत्ने (१७)-को साथमा ओशाडा फर्नाण्डो (२८) र कुसाल मेण्डिस (१४)-को विकेट गुमायो। यी तीनैवटा विकेट ब्लेयर टिकनरले हासिल गरे।

About Author

Advertisement