अझ विस्तृत रूपमा सेवा दन नयाँ ठेगानाबाट ठूलो स्तरमा काम सुरु
कोलकाता: मानसिक स्वास्थ्यप्रति समाजमा चेतना पहिलेको तुलनामा निकै बढेको छ। “सधैं राम्रो महसुस नहुनु पनि सामान्य हो” भन्ने बुझाइ अहिले मानिसहरूबीच फैलिरहेको छ र सामाजिक रूढीवादिता पनि बिस्तारै घट्दै गएको छ। यस परिवर्तनमा सञ्चार माध्यमहरूको महत्वपूर्ण भूमिकाको उल्लेख गर्दै केयरिंग माइन्ड्स इन्टरनेशनलले मानसिक स्वास्थ्य सेवाहरूलाई अझ सहज र सम्मानजनक बनाउन नयाँ ठेगानाबाट ठूलो स्तरमा काम सुरु गरिएको जनाएको छ।
पछिल्ला १३ वर्षदेखि संस्थाले मानसिक स्वास्थ्यप्रतिको नकारात्मक सोच हटाएर त्यसलाई शारीरिक स्वास्थ्यसरह महत्व दिलाउने उद्देश्यका साथ काम गर्दै आएको छ। पूर्वी भारत तथा देशभर मानसिक स्वास्थ्य सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित संस्थाले अहिले ४० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको साततले नयाँ भवनबाट सेवा सुरु गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर एक अर्बभन्दा बढी मानिस मानसिक समस्यासँग संघर्ष गरिरहेका छन्, जसमा चिन्ता र अवसाद सबैभन्दा सामान्य छन्। भारतमा करिब १५ प्रतिशत वयस्कलाई सक्रिय मानसिक स्वास्थ्य सहयोग आवश्यक छ। १५ देखि २९ वर्ष उमेर समूहका युवामाझ आत्महत्या मृत्युका प्रमुख कारणहरूमध्ये एक बनेको छ।
आर्थिक सर्वेक्षण २०२५–२६ अनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूमा सामाजिक सञ्जालको बढ्दो लतले चिन्ता, अवसाद, आत्मसम्मानमा कमी तथा अनलाइन उत्पीडनका कारण मानसिक दबाब बढाइरहेको छ। देशमा प्रति एक लाख जनसंख्यामा कम्तीमा तीन जना मनोचिकित्सक आवश्यक पर्ने भए पनि हाल औसतमा शून्य दशमलव सात पाँच जना मात्र उपलब्ध छन्।
संस्थाले मानसिक स्वास्थ्यलाई प्रत्येक भारतीय परिवारको दैनिक छलफलको विषय बनाउने तथा सबैका लागि रूढीवादितामुक्त मानसिक स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य रहेको जनाएको छ।
संस्थाको यात्रा पद्मापुकुरमा चार हजार वर्गफुटको एक तल्लाबाट सुरु भएको थियो। पछि यसको विस्तार आठ हजार वर्गफुटसम्म पुग्यो। अहिले पूरै साततले भवन मानसिक स्वास्थ्य सेवाका लागि समर्पित गरिएको छ।
क्यारिङ माइन्ड्स इन्टरनेशनलले यो कुनै स्वयंसेवी संस्था वा आवासीय उपचार केन्द्र नभई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका मानिसहरूको मानसिक स्वास्थ्यसम्बन्धी उपचारका लागि एकीकृत बाह्यरोगी सेवा केन्द्र भएको स्पष्ट पारेको छ।
यहाँ चारवटा छुट्टाछुट्टै विभाग सञ्चालनमा छन् — चिकित्सकीय, शिक्षा तथा तालिम, जनचेतना तथा सम्पर्क, र पुनर्स्थापनामा आधारित ‘रिकभरी ३६०’, जहाँ जलचिकित्सा तथा उन्नत शारीरिक उपचारको सुविधा उपलब्ध छ।
संस्थाको चिकित्सकीय टोलीमा चालीसभन्दा बढी विशेषज्ञ कार्यरत छन्, जसमा मनोवैज्ञानिक, चिकित्सक, विशेष शिक्षाविद्, व्यावसायिक उपचारकर्मी, वाणी उपचारकर्मी, शारीरिक उपचारकर्मी तथा सीप विकास प्रशिक्षकहरू समावेश छन्।
नयाँ भवनको प्रमुख विशेषतामध्ये कोलकाताको दुर्लभ जलआधारित शारीरिक उपचार सुविधा पनि रहेको छ, जुन बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि उपयोगी मानिएको छ। पक्षघात, स्नायुसम्बन्धी समस्या, शल्यक्रियापछि पुनर्स्थापना, गठिया तथा हिँडडुलमा समस्या भएका व्यक्तिहरूका लागि यो सेवा प्रभावकारी रहेको बताइएको छ।
यसका अतिरिक्त बालबालिकाका लागि बहुसंवेदी उपचार कक्ष, विशेष शिक्षा तथा खेलमा आधारित उपचार कक्ष, सयभन्दा बढी क्षमता भएको सभाहल, उत्तेजित अवस्थामा रहेका बिरामीलाई शान्त पार्न विशेष कक्ष, द्रुत मानसिक मूल्यांकन सुविधासहित विशेष विश्राम कक्ष, बालबालिकाका लागि खेल क्षेत्र तथा पूर्ण रूपमा अपाङ्गतामैत्री पूर्वाधार पनि उपलब्ध छन्।
संस्थाको शिक्षा विभागअन्तर्गत दीर्घकालीन तथा अल्पकालीन मनोविज्ञान पाठ्यक्रम सञ्चालन भइरहेका छन्। तीमध्ये चारवटा पाठ्यक्रम जादवपुर विश्वविद्यालयबाट मान्यता प्राप्त छन्।
बंगलादेश, संयुक्त अरब अमीरात, अस्ट्रेलिया, सिंगापुर, क्यानडा र अमेरिकाबाट समेत मानिसहरूले यस संस्थाको सेवा लिइरहेका छन्। साथै विभिन्न शैक्षिक संस्था तथा औद्योगिक प्रतिष्ठानहरूसँग पनि संस्थाको सहकार्य रहेको छ।

संस्थाले क्यारिङ माइन्ड्स इन्टरनेशनल र आई क्यान फ्लाई इन्टरनेशनल दुई फरक संस्था भएको पनि स्पष्ट पारेको छ। क्यारिङ माइन्ड्स सामान्य मानिसहरूको मानसिक स्वास्थ्य उपचारका लागि काम गर्छ भने आई क्यान फ्लाई विशेष आवश्यकता भएका बालबालिकाको विद्यालयका रूपमा सञ्चालन भइरहेको छ। केवल क्यारिङ माइन्ड्सले मात्र आफ्नो ठेगाना परिवर्तन गरेको हो।
डॉ. मीनू बुधिया, संस्थापक, केयरिंग माइंड्स इंटरनेशनल का अनुसार एउटै छानामुनि समन्वित सेवा, चिकित्सक तथा उपचारकर्मीहरूको सामूहिक कार्य वातावरण र आत्मीय तथा सकारात्मक परिवेशले बिरामीहरूलाई मानसिक शान्ति र विश्वास दिलाउनेछ।










