मानव उत्थान सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

IMG-20250915-WA0147

सोनादा: भारत मात्र होइन विश्वका अनेकौँ देशहरूमा अध्यात्म ज्ञानको प्रचार–प्रसारद्वारा समाजमा प्रेम र सद्भावना फैलाउँदै मानव जातिको भौतिक तथा सामाजिक उत्थानका लागि निरन्तर कार्यरत मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको ७४औँ पावन जन्मोत्सव २१ सेप्टेम्बरको दिन उहाँका अनुयायी भक्तहरूले देश–विदेशमा धूमधामका साथ मनाइरहेका छन्। यही अवसरलाई केन्द्र बनाई सेप्टेम्बर महिनाभर भारतका विभिन्न प्रान्तहरूमा सद्गुरु श्री सतपालजी महाराजको आध्यात्मिक संस्था मानव उत्थान सेवा समितिको तत्वावधानमा विभिन्न मेडिकल इन्स्टिच्युटहरूको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने केही आश्रमहरूमा रक्तदान कार्यक्रम पनि गरिएको छ यही क्रममा उत्तर पलास मजुवा गाउँ सिलगढी – सालुगढा मानव धर्म आश्रममा हिँज आइतबार मानव उत्थान सेवा समिति सिलिगढी तथा विजयनगर तहसीलको आयोजनामा “आस्था पैरामेडिकल हेल्थ इन्स्टिच्युट” को सहकार्यमा प्रमुख चिकित्सक डा. करन जोशीको नेतृत्वमा तथा उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दीपिका बाईजीको अध्यक्षतामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। यस शिविरमा मझुवा, उत्तर पलास र नयाँ बस्तीका ११० जना मानिसहरू तथा सद्गुरु महाराजजीका ४९ जना भक्त–अनुयायी एवं सन्त–महात्माहरू गरी जम्मा १५९ जनाले निःशुल्क उपचारको लाभ उठाए। सिकिस्त बिमारीहरूलाई शिविरमा आउनलाई निःशुल्क उपचारको सुविधा दिलाउन समितिकाले यातायात सेवा पनि उपलब्ध गराएका थिए। चिकित्सकहरूको सम्पूर्ण टिमलाई सन्त–महात्माहरूले आध्यात्मिक पुस्तकहरु प्रसाद स्वरूप अर्पण गरेका थिए ।यस सामाजिक कार्यमा मानव सेवा दलको सहयोग पनि प्रशंसनीय रह्यो । समितिको तर्फबाट सम्पूर्ण चिकित्सक टोलीलाई खदा ओढाएर सम्मान गरिएको थियो भने बिरामीहरूको उपचारपछि तिनीहरूलाई भोजन गराइयो र प्रसाद वितरणसहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरियो भनी मानव उत्थान सेवा समिति उत्तरपूर्वाञ्चल क्षेत्रको प्रचार – प्रसार सचिव मेघनाथ छेत्रीले जानकारी दिएका छन्।

About Author

Advertisement