सिलगढी: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रीय समितिको आध्यात्मिक युवा प्रकोष्टद्वारा गत् २७ र २८ अगस्त २०२२ को दिन सिलगढीस्थित समितिको कार्यालय श्री हंसबेला आश्रमको सत्संग हलमा क्षेत्रीय समितिका अध्यक्ष महात्मा अदिना बाईजीको अध्यक्षतामा दुई दिवसीय आध्यात्मिक युवा जागरण शिविर सम्पन्न भयो। मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजको तस्वीरमा र चरण पादुकामा माल्यार्पण अनि दीप प्रज्वलन भई शुआरम्भ भएको उक्त शिविरमा समितिको सिक्किम-दार्जीलिङ प्रान्त र तराई- डुवर्सका सम्पूर्ण तहसीलबाट गरी ६ सय भन्दा युवाहरू शिविरमा सहभागी बनेका थिए। प्रथम दिनको शिविरमा समितिका युवा प्रकोष्टका सम्पूर्ण जिल्ला संयोजक र संयोजिकाहरूले आ- आफ्ना लिखित प्रतिवेदनहरू पावर पोइण्टद्वारा प्रस्तुत गरेका थिए।
युवाहरू सदैव मेहनती बनेर समाज, देश, राष्ट्रको लागि समर्पित भई काम गर्न तत्पर हुनुपर्ने सुझावहरु राख्दै युवाहरूले भौतिक शिक्षासंगै आध्यात्मिक शिक्षालाई पनि समानन्तर रुपमा अघि बढाएर लानुपर्ने कुरोमा जोड दिँदै आफ्नो बुद्धि र प्रतिभालाई सधैँ सकारात्मक कार्यमा प्रयोग आग्रह गर्दै युवा प्रकोष्ट डुवर्सका मण्डल संयोजक शिशिर भगत, दार्जीलिङ मण्डलका संयोजक गणेश खतिवडा, समितिका केन्द्रीय प्रचार-प्रसार सचिव मेघनाथ छेत्री, युवा प्रकोष्टका केन्द्रीय संयोजक कुमार योञ्जन, मानव सेवा दलका प्रान्तपाल भीमप्रकाश राईले प्रेरणादायी विचारहरू व्यक्त गरेका थिए। अध्यक्ष महात्मा अदिना बाइजीद्वारा उदबोधन विचार अनि मानव सेवा दलका दार्जीलिङ मण्डल प्रमुख विनिता राईद्वारा स्वागत सम्बोधन गरिएको उक्त पहिलो दिनको शिविरमा महात्मा दक्षिणा बाईजी र महात्मा अखिलेश बाईजीले शिविरलाई सम्बोधन गर्दै युवाहरुमा आध्यात्मिक जागृति आएपछि मात्र समाज, देशमा शान्ति, समृद्धि स्थायी रूपमा हुनसक्ने कुरो जनाउँदै युवाहरू भौतिक शिक्षासँगै आध्यात्मिक शिक्षामा पनि जोड दिनुपर्ने साथै आध्यात्मिक युवा जागरण शिविरबाट धेरै शिक्षा र प्रेरणाहरू लिएर जाने पनि आह्वान गरेका थिए। पहिलो दिनको शिविरलाई हाङ्गजित सुब्बाले सञ्चालन गरेका थिए। शिविरको दोस्रो दिन बिहान चार बजीदेखि महात्मा देविका बाइजीद्वारा सञ्चालित ध्यान योग साधना शिविरमा सबै युवाहरूले भाग लिएका थिए। साधना शिविरपछि सबै युवाहरू शारीरिक व्यायाम प्रशिक्षणमा पनि सहभागी बनेका थिए। शिविरलाई समितिको मूल सचिव प्रकाश हाङखिम, प्रमुख सल्लाहकार गिरीशचन्द्र राई, सेवा दलका सिक्कम मण्डल प्रमुख प्रवीण गुरुङले सम्बोधन गरी युवाहरूलाई शिविरबाट सकारात्मक कुराहरू ग्रहण गरी सदैव अध्यात्म तथा गुरु भक्तिको मार्गमा समर्पित भई अघि बढ्ने निवेदन गरेका थिए। समितिका केन्द्रीय सहसचिव चन्दन लकान्द्रीद्वारा सञ्चालित दोस्रो दिनको शिविरमा महात्मा अदिना बाईजी र महात्मा अखिलेश बाईजीको प्रेरणादायी विचारहरूले युवाहरू धेरै लाभान्वित भएका थिए। शिविरमा युवाहरूको प्रतिभालाई प्रज्वलित पार्न तत्क्षणिक वक्तृता प्रतियोगिता, कविता आवृत्तिसंगै दुवै दिन समितिको सांस्कृतिक विभाग र सिलगढी तहसीलका युवा प्रकोष्टद्वारा सुमधुर भजन कीर्तन र नृत्यहरु प्रस्तुत गरेका थिए। यस अवसरमा मिरिकको फ्रोजन व्याण्डले पनि आफ्ना शानदार प्रस्तुतिहरु दिएका थिए। सांगीतिक क्षेत्रमा फ्रोजन ब्याण्डले दिएको योगदानको कदर गर्दै समितिको तर्फबाट सम्बर्द्धना गरेका थिए। शिविरमा महात्मा देवा बाईजी, महात्मा अक्षरानन्दजी, महात्मा सुरभी बाईजी, महात्मा महेश्वरी बाईजी, महात्मा शैल बाईजी, महात्मा मनोरमा बाईजीलगायत समितिका केन्द्रिय उपाध्यक्ष दीपक राई, बाल सभाका केन्द्रीय संयोजक लक्ष्मण राई, समितिको सिक्किम राज्यका अध्यक्ष पूर्ण योञ्जनलगायत समिति, सेवादल, बालसभा, आध्यात्मिक युवा संगठन आदिका विभिन्न स्तरका कार्यकर्ताहरू पनि उपस्थित थिए। मानव सेवादल डुवर्स मण्डलका प्रमुख नवदीप लामाले धन्यवाद यापन गरेका थिए।










