महेन्द्र छेत्री पुनः गोरामुमोमा फर्किए

IMG-20260514-WA0108

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ नेता महेन्द्र छेत्री पुनः पार्टीमा फर्किएका छन्। गोरामुमोको केन्द्रीय कार्यालय दार्जीलिङमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष मन घिसिङको उपस्थितिमा महेन्द्र छेत्रीले पुनः गोरामुमोमा औपचारिक रूपमा सामेल भएका हुन्। पार्टी अध्यक्ष मन घिसिङ, खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा तथा केन्द्रीय समिति प्रवक्ता वाई लामाले खदा लगाएर महेन्द्र छेत्रीलाई पार्टीमा स्वागत जनाएका थिए।कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले छेत्रीको पुनरागमनलाई संगठनको लागि सकारात्मक र महत्वपूर्ण कदमको रूपमा लिएका छन्।
उल्लेखनीय छ, केही वर्षअघि महेन्द्र छेत्रीले गोरामुमो त्यागेर इन्डियन गोर्खा जनशक्ति फ्रण्टमा प्रवेश गरेका थिए। तर पछिल्लो समय पुनः गोरामुमोमै फर्किएर उनले संगठनप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा अध्यक्ष मन घिसिङले गोरामुमो केवल एउटा राजनीतिक दल मात्र नभई सबै समर्थकहरूको गोर्खा जातिको “पुरानो घर” भएको उल्लेख गर्दै भावुक मन्तव्य राखेका थिए। उनले भने, “आफ्नो घरमा कहिलेकाहीँ विभिन्न परिस्थिति र घटनाहरू आउन सक्छन्। तर अन्ततः मानिस आफ्नो मूल घरमै फर्किन्छ। यही कारण गोरामुमोको ढोका सधैं आफ्ना साथीहरूका लागि खुला रहनेछ।”
महेन्द्र छेत्रीको पुनरागमनले खर्साङ क्षेत्रसहित समग्र संगठनलाई थप मजबुत बनाउने विश्वास पार्टी वृत्तमा व्यक्त गरिएको छ।

About Author

Advertisement