गान्तोक: प्रेम सिंह तामाङले आज आफ्नो आधिकारिक निवासमा श्रीमती छेरिङ डोमा शेर्पा र श्रीमती सोनाम शेर्पासँग भेटघाट गरे।
उक्त अवसरमा उनले श्रीमती रञ्जीता थापासहित उनिहरू आगामी वैशाख १२ देखि वैशाख २१ सम्म सञ्चालन हुने “उत्तर–पूर्व अनुभव महिला सवारी अभियान”को चौथो संस्करणमा सहभागी हुन लागेको जानकारी पाउँदा खुशी व्यक्त गरे।
यो अभियान महिला सशक्तीकरण, आत्मनिर्भरता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिने विशेष कार्यक्रम हो, जसले देशभरका महिलाहरूलाई एकै ठाउँमा ल्याई विभिन्न क्षेत्रहरूको अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्धको उत्सव तथा परम्परागत लैङ्गिक भूमिकालाई चुनौती दिने अवसर प्रदान गर्दछ। साथै यसले सडक सुरक्षाप्रति सचेतना फैलाउने तथा यातायात र साहसिक क्षेत्रमा महिलाको बढ्दो सहभागितालाई उजागर गर्ने काम पनि गर्दछ।
मुख्यमन्त्री तामाङले सरकारले महिलाहरूको प्रयासलाई निरन्तर सहयोग गर्दै विभिन्न क्षेत्रमा उनीहरूको सक्रिय सहभागिता बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे। उनले सहभागी सबैलाई सुरक्षित, समृद्ध तथा प्रेरणादायी यात्राका लागि शुभकामना व्यक्त गरे।











