पुणे: महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (राकांपा) का वरिष्ठ नेता अजित पवारको बिहीबार पुणे जिल्लाको बारामतीस्थित विद्या प्रतिष्ठान मैदानमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ६६ वर्षीय पवारको बुधबार विमान दुर्घटनामा निधन भएको थियो।
आज दिउँसो १२ बजेर १० मिनेटमा अजित पवार पञ्चतत्वमा विलीन भए। त्यसअघि बिहान ९ बजे उनका पुर्ख्यौली गाउँ काटेवाडीबाट करिब ६ किलोमिटर लामो अन्तिम यात्रा निकालिएको थियो, जसमा हजारौँ सर्वसाधारण सहभागी भए। यात्राका क्रममा ‘अजित दादा अमर रहून्’ भन्ने नाराबाजी गरिएको थियो।
अन्त्येष्टिमा केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्री नितिन गडकरी, महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे, पूर्व केन्द्रीय मन्त्री शरद पवार, भाजपा अध्यक्ष नितिन नवीन, गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलगायत वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।
अजित पवारकी पत्नी तथा राज्यसभा सदस्य सुनेत्रा पवार, छोराहरू पार्थ र जय पनि अन्त्येष्टिमा सहभागी भए। पार्थ र जयले बाबुको चितालाई दागबत्ती दिए। राकांपाकी कार्यकारी अध्यक्ष सुप्रिया सुले र पूर्व केन्द्रीय मन्त्री प्रफुल्ल पटेल पनि कार्यक्रममा उपस्थित थिए।
अजित पवारको मृत्यु बुधबार बिहान बारामती हवाई पट्टी नजिक लियरजेट विमान दुर्घटनाग्रस्त हुँदा भएको हो। उक्त दुर्घटनामा दुई पाइलट, एक विमान परिचारिका र एक निजी सुरक्षा अधिकारीको पनि ज्यान गएको थियो। दुर्घटनाको सम्भावित कारण घना कुहिरो रहेको बताइएको छ।










