नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली संघ (ईयू) सँग भएको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) महत्वाकांक्षी भारतका लागि भएको भन्दै यसले स्वदेशी उद्योग र उत्पादकका लागि नयाँ बजार खोल्ने बताएका छन्। बजेट सत्रको सुरुवातमा संसद भवन परिसरमा बिहीबार गरिएको परम्परागत सम्बोधनमा उनले उद्योग जगतलाई यस अवसरको अधिकतम उपयोग गर्न आह्वान गरे।
प्रधानमन्त्री मोदीले देश लामो समयदेखि थन्किएका समस्याबाट बाहिर निस्कँदै दीर्घकालीन समाधानतर्फ अघि बढिरहेको बताए। उनले अब अवरोध सिर्जना गर्ने होइन, समाधान खोज्ने समय आएको उल्लेख गरे।
उनले सरकार फाइलमै सीमित नभई कल्याणकारी योजनाको लाभ अन्तिम व्यक्तिसम्म पुर्याउन केन्द्रित रहेको बताए। “देशको सर्वाङ्गीण विकासका लागि चालिएका सबै कदममा हाम्रो प्राथमिकता सधैं मानव–केन्द्रित नै रहेको छ,” उनले भने।
आत्मविश्वासी भारत
प्रधानमन्त्रीका अनुसार आत्मविश्वासले भरिएको भारत आज विश्वका लागि आशाको किरण बनेको छ। ईयू सँगको एफटीएले महत्वाकांक्षी भारतको सोच प्रतिबिम्बित गर्ने उल्लेख गर्दै उनले यसबाट भारतीय उत्पादक र निर्यातकलाई ठूलो अवसर प्राप्त हुने बताए। “२७ सदस्य राष्ट्र रहेको युरोपेली संघका लागि गुणस्तरीय उत्पादन आपूर्ति गर्ने नयाँ बजार खुलेको छ,” उनले भने। प्रधानमन्त्रीले भारतीय उद्योगीलाई ती बजारमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउन आग्रह गरे।
‘मदर अफ अल डिल्स’
भारत र युरोपेली संघले मंगलबार एफटीए वार्ताको समापनको घोषणा गरेका थिए। झन्डै दुई दशक लामो वार्तापछि भएको यस सम्झौतोलाई ‘मदर अफ अल डिल्स’ भनिएको छ। सम्झौताअनुसार भारतका ९३ प्रतिशत निर्यातले युरोपेली संघमा शुल्कमुक्त पहुँच पाउनेछन् भने युरोपेली संघबाट लक्जरी कार र वाइनको आयात सस्तो हुनेछ।
यस सम्झौताबाट भारत र युरोपेली संघबीच करिब दुई अर्ब जनसंख्या समेटिएको साझा बजार बन्ने अपेक्षा गरिएको छ। भारत विश्वको चौथो ठूलो अर्थतन्त्र हो भने युरोपेली संघ दोस्रो ठूलो आर्थिक इकाइ हो।
प्रधानमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुले बुधबार संसदको संयुक्त बैठकमा दिएको सम्बोधन १४० करोड भारतीयको आत्मविश्वासको अभिव्यक्ति भएको बताए। उनले त्यसमा युवाको आकांक्षा स्पष्ट रूपमा झल्किएको उल्लेख गरे। साथै, आइतबार अर्थमन्त्री निर्मला सीतारमणले लगातार नवौँ पटक बजेट प्रस्तुत गर्न लागेको स्मरण गराउँदै उनले यसलाई भारतीय लोकतन्त्रको गर्विलो अध्याय भएको बताए।









