मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

IMG-20241103-WA0100

इनरुव: सुनसरी हरिनगर गाउँपालिका-२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनन्छन्। त्यसलाई आवश्यकताअनुसार काट्छन , अनि काममा लाग्दछन्।
स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ। भट्टाई र गीता मात्रै होइन अचेल यहाँका मरिक समुदायका व्यक्तिको दिनचर्या यसैगरी बित्ने गरेको छ।
आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन पाँचदिन मात्र बाँकी छ तर त्यसका लागि चाहिने सामग्री बनाउन यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ। सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ।
छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर-२ का वीरेन्द्र मरिकले बताउछन्। छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको सुनाए।
स्थानीय अनिता मरिकले यहाँ हरेक वर्ष छट नआउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताउछिन्। “यही बेला त हो आम्दानी गर्ने। अरु बेला यस्तो अवसर आउँदैन। थोरै भए पनि रकम जम्मा गर्ने र आफ्ना र परिवारका आवश्यकता पूर्ति गर्ने गरेका छौँ”, उनले भनिन्।
भट्टाई मरिकले पनि गाउँ गाउँबाट बाँस किनेर ल्याएर छठमा प्रयोग हुने सामग्री बनाउन लागेको र यसबाट थोरै भए पनि आम्दानी हुने गरेको बताए।
छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन्। “अरु बेला कमाइ हुँदैन, त्यसैले हामीहरू आम्दानीका लागि एक महिना अघिदेखि जुटिरहेका छौँ। पर्व अवसरका रूपमा पनि आउने गर्छ हाम्रा लागि”, स्थानीय विन्देश्वर मरिकले भने।
स्थानीय चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छट पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाउछन्। यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको गर्जो टार्ने
बताउछन्।

About Author

Advertisement