गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’ को १३३औँ शृङ्खलामा उत्तर–पूर्व क्षेत्रलाई राष्ट्रको ‘अष्ट लक्ष्मी’ को रूपमा वर्णन गर्दै यसको अपार प्रतिभा र प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। उनले यस क्षेत्रमा भएको उपलब्धिहरूलाई कार्यक्रममार्फत निरन्तर उजागर गरिँदै आएको उल्लेख गर्दै यसपटक बाँस उद्योगमा आएको रूपान्तरणलाई विशेष रूपमा प्रस्तुत गरे।प्रधानमन्त्रीले भने, पहिले बोझको रूपमा हेरिएको बाँस आज रोजगारी, व्यवसाय र नवप्रवर्तनको प्रमुख स्रोत बनेको छ, जसबाट विशेष गरी महिला वर्ग लाभान्वित भए। उनले स्मरण गराए कि बेलायती शासनकालको कानुनअनुसार बाँसलाई रूखको रूपमा परिभाषित गरियो, जसका कारण यसको ओसारपसार अत्यन्त कठिन बन्यो। सन् २०१७ मा कानुन संशोधन गरी बाँसलाई रूखको श्रेणीबाट हटाएपछि उत्तर–पूर्वभरि बाँस उद्योग तीव्र रूपमा विकास भएको उनले बताए।यस क्रममा प्रधानमन्त्रीले सिक्किमको गान्तोक नजिक रहेको लागास्ताल बाँस उद्यम समूहको उदाहरण प्रस्तुत गर्दै यस समूहले बाँसबाट हस्तकला सामग्री, धूप, फर्निचर तथा गृह सजावटका वस्तु उत्पादन गरिरहेको जानकारी दिए।लागास्ताल डिजाइन केन्द्र सिक्किमको गान्तोकमा आधारित महिला नेतृत्वमा सञ्चालित बाँस उद्योग हो, जसकी संस्थापक उद्यमी चिमी ओङ्मु भुटिया हुन्। यस संस्थाले वातावरणमैत्री बाँसका हस्तकला, गृह सजावटका सामग्री तथा आधुनिक उपयोगी वस्तु उत्पादन गर्दै आयो।प्रधानमन्त्रीबाट आफ्नो कार्यको उल्लेख भएपछि चिमी ओङ्मु भुटियाले आभार व्यक्त गर्दै उद्यमशीलता, महिला सशक्तिकरण तथा दिगो विकासमा निरन्तर सहयोगका लागि प्रधानमन्त्री र सिक्किमका मुख्यमन्त्रीप्रति धन्यवाद ज्ञापन गरिन्। उनले प्रधानमन्त्रीको दृष्टिकोणले सामान्य मानिसहरूलाई पनि ठूलो सपना देख्न र सफलता प्राप्त गर्न प्रेरित गरेको बताइन्।

प्रधानमन्त्रीले भारतको दुग्ध क्षेत्रको परिवर्तनबारे पनि चर्चा गर्दै मूल्य अभिवृद्धिका कारण परम्परागत स्वादले विश्वव्यापी पहिचान पाएको बताए। सिक्किमको प्रसिद्ध छुर्पीबारे उल्लेख गर्दै उनले यो याकको दूधबाट बनाइने विशेष प्रकारको चीज भएको र यसको स्वादमा पहाडको सरलता झल्किने बताए।‘मन की बात’ मा सिक्किमको बाँस नवप्रवर्तन र परम्परागत छुर्पी दुवैको प्रशंसाले दिगो विकास तथा सांस्कृतिक पहिचानमा राज्यको बढ्दो योगदानलाई उजागर गर्यो।









