साऊदी अरब : साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा भएको आक्रमणले विश्व तेल बजारमा फेरि दबाब बढाएको छ। आक्रमणपछि साउदीको इस्ट-वेस्ट पाइपलाइन बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अवरोधको चिन्ता बढेको हो। मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य १.३७ डलर बढेर प्रति ब्यारेल १०७.०५ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट पनि १.५३ डलर बढेर १०२.९२ डलर पुगेको छ। यमनका इरान समर्थित हुथी विद्रोहीले साउदीको खमिस मुसाइत सैन्य एयरबेसमा मिसाइल र ड्रोन आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव थप चुलिएको छ। विमान ह्याङ्गर, राडार, रनवे र हतियार भण्डारलाई निशाना बनाइएको बताइएको छ। साउदीमाथि लगातार आक्रमण र खाडी राष्ट्रहरूको इरानसँगको वार्ता स्थगित भएपछि मध्यपूर्वको द्वन्द्व अझ फैलिने र त्यसको प्रत्यक्ष असर विश्वव्यापी तेल आपूर्तिमा पर्ने जोखिम बढेको छ।





