काठमाडौं : रसुवागढी नाका बन्द भएपछि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुको संख्या उल्लेख्य रूपमा बढेको छ। अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गते (२६ अगस्त–१४ सेप्टेम्बर) सम्म तातोपानी नाकाबाट ३ हजार ९०४ जना नेपाल प्रवेश गरेका छन्, जसमध्ये १ हजार ७३३ जना महिला रहेका छन्। सोही अवधिमा तातोपानी हुँदै ३९१ जना चीनतर्फ प्रस्थान गरेका छन्। विभागका अनुसार नेपाल प्रवेश गर्ने अधिकांश यात्रु तिब्बत भ्रमण तथा कैलाश मानसरोवर यात्राबाट फर्किएका हुन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित भन्सार र अध्यागमन कार्यालयसहितका संरचनामा क्षति पुर्याएपछि यात्रुले तातोपानी र हुम्लाको हिल्सा नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन्। हिल्सा नाकाबाट पनि सोही अवधिमा ३८७ जना नेपाल प्रवेश गरेका छन् भने १७८ जना चीनतर्फ गएका छन्। रसुवागढी नाका पुनः सञ्चालनमा नआएसम्म तातोपानी र हिल्सामा यात्रुको चाप अझ बढ्न सक्ने अनुमान गरिएको छ। अध्यागमन विभागले वैकल्पिक नाकाबाट हुने आवागमनलाई सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।





