मतदाता नामावली पुनरीक्षण: गान्तोकका जिल्लापाल रोहन अगवानेद्वारा बीएलओहरूको नक्साङ्कन कार्यको समीक्षा, घर-घर पुगेर तथ्याङ्क सङ्कलन गर्न निर्देश

n71458235617804253076879e13d1ea6300de549b648e9debfa5b0e4f8fdeaa662b1da64c82687be74848b3

गान्तोक: गान्तोकका जिल्लापाल तथा जिल्ला चुनाउ अधिकारी रोहन अगवानेको अध्यक्षतामा आज सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा एउटा महत्त्वपूर्ण समीक्षा बैठक सम्पन्न भएको छ। गान्तोक जिल्ला अन्तर्गतका बुथस्तरीय अधिकारी (बीएलओ) हरूद्वारा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ को कडीको रूपमा सञ्चालन भइरहेको नक्साङ्कन (मानचित्रण) प्रक्रियाको प्रगतिबारे बुझ्न यस बैठकको आयोजना गरिएको हो।
​बैठकको अवधि जिल्ला चुनाउ अधिकारी अगवानेले बीएलओहरूसँग सीधा कुराकानी गर्दै जिल्लाभरि भइरहेको नक्साङ्कन कार्यको स्थितिको गहिरो समीक्षा गर्नुभयो। यस महत्त्वपूर्ण कार्यलाई तोकिएको समयभित्रै पूरा गर्नु पर्ने कुरामा विशेष जोड दिँदै उहाँले सबै बीएलओहरूलाई पूर्ण समर्पण र तत्परताका साथ काम गर्न आह्वान गर्नुभयो। जिल्लापालले क्षेत्रका कुनै पनि योग्य मतदाता सूचीबाट नछुटून् भन्नका निम्ति बीएलओहरूलाई स्थानीय पार्षद्, क्षेत्र विधायक र बुथस्तरीय एजेन्टहरू (बीएलए) सँग निरन्तर र नजिकबाट समन्वय राखेर काम गर्न निर्देश दिनुभएको छ।
​जिल्लापाल अगवानेले स्पष्ट रूपमा भन्नुभयो कि, भारत निर्वाचन आयोग (ईसीआई) द्वारा जारी गरिएका निर्देशिकाहरूलाई कडाइका साथ पालना गरिनुपर्छ। मतदाता नामावलीको शुद्धता र सही तथ्याङ्कका निम्ति बीएलओहरू आफैँ आफ्नो क्षेत्रका प्रत्येक घर-घरमा पुग्नु अनिवार्य रहेको उहाँले बताउनुभयो। उल्लेखनीय छ, यो नक्साङ्कन प्रक्रिया गत ३० मई २०२६ देखि सुरु भइसकेको छ र आगामी २८ जून २०२६ सम्म जारी रहनेछ।
​यसै गरी, जिल्ला चुनाउ अधिकारीले चुनाउ पञ्जीकरण अधिकारी (ईआरओ) र सहायक चुनाउ पञ्जीकरण अधिकारी (एईआरओ) हरूलाई पनि विशेष गहन पुनरीक्षण प्रक्रिया अवधिभरि बीएलओहरूका गतिविधिहरूमाथि कडा निगरानी राख्न आग्रह गर्नुभयो। मतदाता नामावली संशोधन कार्यमा पारदर्शिता, शुद्धता र समयको पालना सुनिश्चित गर्न ईआरओ र एईआरओहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उहाँले प्रस्ट पार्नुभयो। यस उच्चस्तरीय बैठकमा गान्तोकका अतिरिक्त जिल्लापाल (मुख्यालय) छिरिङ नोर्ग्याल थिङ, अतिरिक्त जिल्लापाल सिसुम वाङ्चुक भोटिया, महकुमा अधिकारी (मुख्यालय) महेन्द्र छेत्रीलगायत अन्य आधिकारिक वर्गको उपस्थिति रहेको थियो।

About Author

Advertisement