मतदाता नामावली पुनरीक्षणबारे राजनीतिक दल र बुथ स्तरीय एजेन्टहरूसँग जिल्लापालको सचेतना बैठक

FB_IMG_1779299698826

पाकिम: ​पाकिम जिल्लाकी जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल परी बिश्नोईको अध्यक्षतामा आज पाकिमको डीडीएमए कन्ट्रोल हलमा राजनीतिक दलका प्रतिनिधि तथा बुथ स्तरीय एजेन्टहरू (बीएलए) सँग मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) तेस्रो चरण सम्बन्धी एक सचेतना बैठक सम्पन्न भएको छ। आगामी एसआईआर प्रक्रिया अन्तर्गतको कार्यविधि, समयसीमा र विभिन्न गतिविधिबारे राजनीतिक दलका प्रतिनिधि तथा बीएलएहरूलाई विस्तृत जानकारी गराउने उद्देश्यले यस बैठकको आयोजना गरिएको हो।
​बैठकलाई सम्बोधन गर्दै जिल्ला निर्वाचन अधिकारी बिश्नोईले विशेष गहन पुनरीक्षणको मुख्य उद्देश्य योग्य मतदाताको नाम समावेश गर्नु, मृत मतदाताको नाम हटाउनु, दोहोरो नाम सच्याउनु, त्रुटिपूर्ण विवरण सुधार गर्नुका साथै स्थान परिवर्तन गरेका वा अनुपस्थित मतदाताको प्रमाणीकरण गर्नु रहेको स्पष्ट पारिन्। उनले एक स्वच्छ, पारदर्शी र अद्यावधिक मतदाता नामावलीले नै समग्र निर्वाचन प्रक्रियालाई अझ सुदृढ़ बनाउने कुरामा जोड दिइन्।
​प्रस्तुतीकरणमार्फत एसआईआर प्रक्रियाको आवश्यकता, मुख्य विशेषता तथा कार्यविधिबारे प्रकाश पार्दै उनले यस पुनरीक्षण अभियान अन्तर्गत गणना चरण सञ्चालन हुने‌ जानकारी दिइन्। यस प्रक्रियामा बुथ स्तरीय अधिकारीहरू (बीएलओ) ले प्रत्येक घरदैलोको भ्रमण गरी गणना फारम वितरण तथा सङ्कलन गर्नेछन्। यसका साथै उनले पूर्व-भरिएका गणना फारम तथा प्रारम्भिक मतदाता नामावली तयार गर्ने प्रक्रियाबारे पनि प्रकाश पारिन्।
​एसआईआर प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि जिल्ला निर्वाचन अधिकारीले जिल्लाका प्रत्येक मतदान केन्द्रका लागि एक-एक जना बुथ स्तरीय एजेन्ट नियुक्त गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरिन्। भारतीय निर्वाचन आयोग (ईसीआई) द्वारा जारी निर्देशनहरूको उल्लेख गर्दै उनले कुनै पनि किसिमको अन्योलता नहोस् र सही जानकारीको प्रवाह होस् भन्नका लागि बीएलएहरूले मुख्य निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारी वा निर्वाचन दर्ता अधिकारीसँग प्रत्यक्ष समन्वय गर्न सक्ने कुरा बताइन्।
​बैठकको अन्तिम चरणमा सहभागीहरूले राखेका विभिन्न जिज्ञासा तथा प्रश्नहरूको समाधानका लागि जिल्ला स्तरीय मास्टर प्रशिक्षकद्वारा एक अन्तरक्रियात्मक सत्र समेत सञ्चालन गरिएको थियो।

About Author

Advertisement