इम्फाल: मणिपुर पुलिसले राज्यभर चलाएको छुट्टाछुट्टै अपरेसनका क्रममा प्रतिबन्धित उग्रवादी सङ्गठनका ३ जना सक्रिय कार्यकर्ता र १ जना सन्दिग्ध लागुऔषध तस्करलाई पक्राउ गरेको छ। बिहीबार (२३ जुलाई) सञ्चालित उक्त कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलीगट्टा र हेरोइन बरामद गरिएको छ।शुक्रबार प्रहरीले दिएको आधिकारिक जानकारी अनुसार विष्णुपुर प्रहरी थाना क्षेत्र अन्तर्गत तेरा उराक चेकपोस्टबाट केवाईकेएलका सक्रिय कार्यकर्ता ३९ वर्षीय मायङ्गलम्बम तोम्बा सिंह (उर्फ लक्ष्पा) पक्राउ परेका हुन्। चुराचन्दपुरका स्थायी बासिन्दा रहेका उनी हाल फुबाला राहत शिविरमा बस्दै आएका थिए। मोइराङस्थित पेट्रोल पम्पमा भएको विस्फोटमा समेत संलग्न रहेका उनीबाट ९ एमएमको १ थान पेस्तोल, १ थान म्यागजिन र ११ राउन्ड गोली जफत गरिएको छ।यसैगरी, अर्को कारबाहीमा सुरक्षाबलले मोलनोम क्षेत्रबाट युकेएनएका सक्रिय सदस्य एस पलाल कुकी (उर्फ लालबोई सिङ्गसन) लाई पक्राउ गरेको छ। सङ्गठनका वित्त प्रमुख (फाइनान्स चिफ) रहेका उनी जबर्जस्ती असुली (चन्दा आतङ्क) र गोलीहानाहानका थुप्रै घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ।यस्तै, इम्फाल पूर्वको पोरोमपत प्रहरी थाना क्षेत्र अन्तर्गत वाङखेई अयाङपाली सडकखण्डबाट केसीपीका कार्यकर्ता ३७ वर्षीय गुरुमयुम खुगमनी शर्मा (उर्फ नानाओ/बमोन) पक्राउ परेका छन्। उनी अवैध सट्टाबाजी गतिविधिमा समेत संलग्न रहेको खुलेको छ।लागुऔषध विरुद्धको अर्को अभियानमा थौबल जिल्लाको लिलोङ बजार निवासी ३० वर्षीया लैला पक्राउ परेकी छन्। उनको साथबाट १० वटा साबुनदानीमा लुकाएर राखिएको ३८९ ग्राम सन्दिग्ध हेरोइन बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









