गान्तोक: मङ्गलबारेमा दुई दिनव्यापी ३३औं नेपाली भाषा दिवसको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम स्फुरण साहित्य प्रकाशन, नेपाली भाषा मान्यता दिवस समारोह समिति र मङ्गलबारे वरिष्ठ माध्यामिक विद्यालयको संयुक्त तत्वावधानमा भएकाे हो। सामाजिक अभियन्ता कमलकुमार काफ्लेले अध्यक्षता गरेको यस कार्यक्रममा विधायक इरूङ तेञ्जिङ लेप्चा मुख्य अतिथि रहेका थिए। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष काफ्लेले मातृ भाषा मायाको साउती गर्ने र मनकाे भकानो पोख्ने भाषा रहेको उल्लेख गर्दै हामीले जति नै राम्रो अङ्ग्रेजी जाने पनि आफ्नोपन नभुल्ने अनुरोध गरे। नेपाली भाषाले मान्यता पाइसकेको छ, आफ्नो भाषालाई माया गर्न सिक्नु पर्छ भन्दै सबैलाई जागरुकताको आह्वान पनि गरे। मुख्य अतिथि विधायक इरूङ तेञ्जिङ लेप्चाले आफ्नो भाषा-संस्कृतिलाई बचाउन आफै लागि पर्नुपर्ने बताए। जातिको विकासका लागि अरूको भाषा-संस्कृति आदि जान्न जरूरी भए पनि त्यसतर्फ लागेर आफ्नो भाषा-संस्कृति नभूल्नु पर्ने सल्लाह दिए। कार्यक्रममा राम-गौरी सङ्ग्रहालयका संस्थापक गणेश प्रधान र लोक गायक एवं नृत्य निर्देशक नरेन्द्र गुरूङलाई स्फुरण साहित्य सम्मानद्वारा अलङ्कृत गरिएको थियो। कार्यक्रममा आयोजक समितिले विधायक इरूङ तेञ्जिङ लेप्चा, अवकाशप्राप्त बागवानी अधिकारी नवराज प्रधान, मुख्य अभियन्ता रिञ्जिङ दोर्जी ग्याल्छेन, भाषा शिक्षक एवं लेखक दावाछिरिङ लेप्चा र गायक-सङ्गीतकार धनकुमार गुरूङलाई अभिनन्दन जनाइएको थियो। कार्यक्रममा मङ्गलबारे महकुमाअन्तर्गत बोर्ड परीक्षामा नेपाली र अन्य भाषामा सर्वोच्च अङ्क प्रापक विद्यार्थीवर्गलाई प्रशंसा पत्र प्रदान गरियो भने एडिन राई र रेजिना तामाङलाई पनि प्रशंसा पत्र प्रदान गरिएकाे थियो। कार्यक्रममा हाजिरीजवाफ प्रतियाेगिता पनि भएको थियो। यसरी नै हाँस्य कलाकार सुरज सार्कीले कार्यक्रममा आफ्नो कलाद्वारा दर्शकवर्गलाई मनोरञ्जन गराएका थिए। कार्यक्रममा गायक धनकुमार गुरूङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि भएको थियो। ल्हाछिरिङ दोङ, हेमकुमार छेत्री र सविन राईले सञ्चालन गरेको यस कार्यक्रममा आयोजक समितिका अध्यक्ष सन्तोष आलेले स्वागत भाषण राखे। कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष सोनाम दोङले धन्यवाद ज्ञापन दिएका थिए। कार्यक्रममा सिक्किम सरकारका पूर्व सचिव शान्त प्रधान, शिक्षा विभागका पूर्व अतिरिक्त निर्देशक आइके छेत्री आदिको पनि उपस्थिति रहेको थियो।











