मङ्गनमा एसआईआरको तयारी समीक्षा

FB_IMG_1784046613403

निर्वाचन रोल पर्यवेक्षक निखारेद्वारा निर्देशनात्मक बैठक

मङ्गन: मङ्गन जिल्लाका लागि विशेष गहन पुनरावलोकन (एसआईआर) २०२६ को तयारी र त्यसपछिको सुनुवाइ प्रक्रियाको वस्तुस्थितिबारे बुझ्न निर्वाचन रोल पर्यवेक्षक तुषार जी. निखारेले आज मङ्गनको पहिलो औपचारिक भ्रमण गर्नुभएको छ।
जिल्ला प्रशासनिक केन्द्र, पेन्तोकस्थित उपायुक्तको कार्यालयमा आयोजित समीक्षा बैठकमा उहाँले जिल्ला निर्वाचन मेसिनरीको तयारीको समीक्षा गर्नुभएको हो।
​बैठकमा मङ्गनका उपायुक्त तथा जिल्ला निर्वाचन अधिकारी अनन्त जैनले जिल्लामा भइरहेको एसआईआर को प्रगति र तथ्याङ्कका बारेमा पर्यवेक्षक निखारेलाई विस्तृत जानकारी गराउनुभएको थियो। उक्त बैठकमा जिल्लाका निर्वाचन पञ्जीकरण अधिकारीहरू, सहायक निर्वाचन पञ्जीकरण अधिकारीहरू, अतिरिक्त सहायक निर्वाचन पञ्जीकरण अधिकारीहरू, निर्वाचन विभागका संयुक्त सचिव कर्मा शेर्पाका साथै सिक्किमको मान्यता प्राप्त राजनीतिक दल ‘सिटिजन एक्सन पार्टी’ का प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।
​छलफलका क्रममा पर्यवेक्षक निखारेले भारत निर्वाचन आयोगको निर्देशिकालाई कडाइका साथ पालना गर्दै सुनुवाइ प्रक्रियालाई पारदर्शी, सुव्यवस्थित र त्रुटिरहित बनाउन निर्देशन दिनुभएको छ। उहाँले तोकिएको समयसीमा भन्दा धेरै अगावै सुनुवाइ कार्य सम्पन्न गर्न र प्रक्रियागत स्पष्टताका लागि अधिकारीहरूलाई एकआपसमा समन्वय गरी अघि बढ्न सचेत गराउनुभएको छ।
​भूमिका र जिम्मेवारीहरूमा स्पष्टता हुनुपर्ने कुरामा जोड दिँदै श्री निखारेले अधिकारीहरूलाई प्रक्रियाको प्रत्येक चरणमा उचित सावधानी अपनाउन, प्रत्येक नागरिकलाई सुनुवाइको निष्पक्ष अवसर प्रदान गर्न र सम्पूर्ण कारबाहीको उचित अभिलेखीकरण कायम राख्न निर्देशन दिनुभयो। यसका साथै उपलब्ध समयको बुद्धिमानीपूर्वक उपयोग गर्न र जिल्लाभरि सञ्चालन गरिएका ‘सिस्टेमेटिक भोटर्स एजुकेशन एण्ड इलेक्टोरल पार्टिसिपेसन’का गतिविधिहरूको विस्तृत विवरण अद्यावधिक राख्न समेत उहाँले आग्रह गर्नुभएको छ।
​निर्वाचन मेसिनरीको तयारीलाई थप सुदृढ बनाउन बैठकमा सुनुवाइ प्रक्रियासँग सम्बन्धित विभिन्न काल्पनिक घटनाक्रम हरूमाथि गहन विचार-विमर्श गरिएको थियो। यस छलफलले अधिकारीहरूको जिज्ञासा समाधान गर्दै जिल्लाभरि एकरूपताका साथ निर्धारित प्रक्रियाहरू कार्यान्वयन गर्न स्पष्टता प्रदान गरेको छ। जिल्लाको समग्र तयारीप्रति सन्तोष व्यक्त गर्दै पर्यवेक्षक निखारेले आफ्ना आगामी भ्रमणहरूमा सुनुवाइ प्रक्रियामा प्रत्यक्ष सहभागी हुने जानकारी दिनुभएको छ।

About Author

Advertisement