नयाँ दिल्ली: टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले टर्की, साउदी अरेबिया र पाकिस्तानबीच भएको मक्का सम्झौतालाई नाटाे को ‘आर्टिकल ५’ सँग तुलना गर्दै कुनै एक देशमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने घोषणा गरेका छन्। गत अगस्ट ७ मा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका राष्ट्रपति एर्दोगनले यस ऐतिहासिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए।
एर्दोगनले अल जजीरालाई दिएको अन्तर्वार्तामा यस सम्झौतामा मिश्र (इजिप्ट) लाई पनि समावेश गर्न सकिने र भविष्यमा अन्य देशहरू पनि जोडिन सक्ने सम्भावना औंल्याएका छन्। यस सम्झौताअन्तर्गत सैन्य सहयोग बढाउन रणनीतिक राजनीतिक र सैन्य संयन्त्र स्थापना गरिनेछ, जसमा तीनै देशका रक्षा मन्त्री, विदेश मन्त्री र सेना प्रमुखहरू संलग्न हुनेछन्। संयुक्त स्थल, नौसेना र वायुसेना अभ्यासका साथै एयर डिफेन्स सिस्टम, ड्रोन प्रविधि र रक्षा उत्पादनमा उच्च स्तरको सहकार्य गर्ने योजना रहेको छ।









