मंगन जिल्ला अस्पतालमा डायलिसिस केन्द्रको उद्घाटन

IMG-20230601-WA0286.jpg

मंगन: मंगन जिल्ला अस्पतालमा पहिलो डायलिसिस केन्द्रको स्थापना गरिएको छ। आज क्षेत्र विधायक एवं विद्युत विभागीय सल्लाहकार पिञ्छो नामग्याल लेप्चाको बाहुलीबाट यसको विधिवत रूपमा उद्घाटन गरियो।

यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले मंगन जिल्लावासीको निम्ति आजको यस कार्यको महत्वबारे जानकारी गराए। यस डायलिसिस केन्द्र सफलतापूर्वक स्थापित गर्न संलग्न प्रत्येकप्रति उनले आभार व्यक्त गरे। यस केन्द्रको स्थापनाले ल्याएका प्रशस्त अवसरहरू र विकासीय कार्यबारे उनले प्रकाश पारे। आवश्यक परेकाहरूलाई निरन्तर सेवा प्रदान गर्न ध्यान केन्द्रित गर्नुपर्ने उनले सम्बन्धित प्रशासन अनि कर्मचारीहरूलाई आह्वान गरे।

कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्री, पुलिस अधीक्षक टीएन ग्याछो, स्वास्थ्य विभागीय निदेशक डा. इन्दिरा छेत्री, स्टेट नोडल अफिसर डा. संगीता प्रधान, प्रमुख चिकित्सा अधिकारी डा. टीटी कालोन लगायत अन्यको उपस्थिति रहेको थियो।

जानकारी गराइन्छ, एसकेएम पार्टीको नेतृत्वमा 2019-मा राज्यमा सरकार गठन भएपछि राज्यको प्रमुख अस्पताल साथै जिल्ला अस्पतालहरूमा आवश्यक पूर्वाधारहरू तीव्रताको साथमा विकसित गरिएको छ। राज्यको प्रमुख अस्पताल एसटीएनएमसँगै जिल्ला अस्पतालहरूमा पनि डायलिसिस, आइसीयू जस्ता पूर्वाधारहरूसँगै साधारणदेखि जटिल शल्यक्रियासम्म गरिनुसक्ने व्यवस्था गरिएको छ।

महिला आयोगकी अध्यक्ष छुङकिपु लेप्चाले कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लामा आवश्यक यस प्रकारको सुविधाको स्थापना गर्न सराहनीय पहल गर्ने सबैप्रति बधाई दिइन्। यसरी नै मंगन जिल्लाको निम्ति मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्गेल भोटियाले यो डायलोसिस केन्द्र जिल्लाको महत्वपूर्ण सम्पदा रहेको बताए।

About Author

Advertisement