भ्रष्टाचारमुक्त समाजको निर्माण नै प्राथमिकता रहेको गठबन्धन प्रार्थी मन्दिप तामाङको दावी

press.jpg

मिरिक: मिरिकको सौरेनी ग्राम पञ्चायत एक-बाट पञ्चायत समितिको लागि संयुक्त गठबन्धनका प्रार्थी मन्दीप तामाङले भ्रष्टाचारमुक्त समाजको निर्माण नै आफ्नो प्राथमिकता रहेको दावी गरेका छन्। तिनले आज शनिबार एउटा प्रेस भेलाको आयोजना गरेर चुनाउमा उम्मेदवारिता दिनुको मुख्य उद्देश्य र संकल्पबारे विस्तृत जानकारी गराएका छन्। यस अवसरमा तिनले भने, म आफैलाई एक सचेत र शिक्षित बेरोजगार युवा ठान्दछु। यसैले आगामी पञ्चायत चुनाउमा पञ्चायत समितिको पदका लागि संयुक्त गठबन्धनका प्रार्थीका रूपमा उम्मेद्वारिता दिएको छु, जसको लागि म सबल र सक्षम छु सन् २०१७ को आन्दोलनमा घरविहिन भएर आजसम्म आफ्नो सिद्धान्तमा बिकाउ नभएर टिकाउ भएर बसेको तिनले जानकारी गराउँदै यसले मेरो सिद्धान्त र स्वाभिमानलाई चिनाउँदछ भन्ने कुरा बताए। तिनले आफु चुनाउमा विजय भएको खण्डमा आफ्नो कार्य क्षमताभित्र पर्ने सबै योजनाहरू सम्बन्धित क्षेत्रहरुमा समानता र पारदर्शीताको साथमा कार्यान्वयन गरेर मन जित्ने प्रतिबद्धता जताएका छन्। तिनले नोल डाँडा गाउँको सर्वाङ्गीण विकास र सुन्दरीकरण, खर्वनी- छोटाकोठी गाउँको सर्वाङ्गीण विकास र सुन्दरीकरण, मिलिकथुङ – चिनियाँटार- धुसेनी गाउँको सर्वाङ्गीण विकास र सुन्दरीकरण, पलङ्गवारी- भट्टिटार-नयाँकमान गाउँको सर्वाङ्गीण विकास रसुन्दरीकरण सहित युवा जमातलाई कुलतबाट जोगाउन दिशा दर्शन नै आफ्नो अहम् मुद्दा रहेको साथै बेरोजगार साथी भाईहरुलाई स-साना लघु घरेलु उद्योग परिचालन पनि रहेको कुरा पत्रकारहरूलाई बताए। तिनले चुनाउमा आफ्नो जीत निश्चित रहेको दाबी पनि गरेका छन्।

About Author

Advertisement