भोइस किड्स सिजन तीनको फाइनलसम्म पुगेका खरसाङका प्रतिभाशाली नानी आयुष लामाको कृतज्ञता कार्यक्रम सम्पन्न

IMG-20241110-WA0182

खरसाङ: नेपालको रियालिटी शो भोइस किड्स सिजन तीनको फाइनलसम्म पुगेका प्रतिभाशाली नानी आयुष लामाको तर्फबाट कृतज्ञता प्रकट कार्यक्रम सम्पन्न भएको छ। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद श्याम शेर्पा, संगीत गुरु गोबिन्दसिंह घतानी, निमा लामा, कमल अग्रवाल, आशा मुखिया लामा, पेम्बा रिम्पोर्छे, कर्माध्यक्ष भक्तिमान तामाङ, योगेन्द्रराज सुन्दास लगायत अन्यहरू उपस्थित रहेका थिए।

नमस्ते खरसाङ र बागिना म्युजिक खरसाङको संयुक्त आयोजनामा आयुष लामाको कृतज्ञता कार्यक्रम सम्पन्न भएको छ। सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण नमस्ते खरसाङको प्रबन्ध निर्देशक एंव खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले राखेका थिए। अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा भोइस किड्स सिजन तीनको फाइनलसम्म पुगेका खरसाङका प्रतिभाशाली नानी आयुष लामालाई भोटिङमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै उक्त कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नानी आयुष लामालाई आयोजक समितिको पक्षबाट सम्मान पनि जनाइएको छ। कार्यक्रममा बागिना म्युजिकल टोलीसित नानी आयुष लामाले आफ्नो सांगीतिक प्रस्तुति पनि दिएका छन्। कार्यक्रममा वरिष्ठ संगीतकार एंव बागिनाको प्रमुख रुपेस रसाईलीले वक्तव्य राखेका थिए। कार्यक्रममा योगेन लामा, सुरज बाल्मिकी र रतन शेर्पा र सानो नानी अभिनव लामाले पनि गीत प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित सभासद अनोश थापाले वक्तव्य राखेका थिए। कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै संगीतकार रुपेस रसाईलीले नेपालको भोइस किड्स सिजन तीनको फाइनलसम्म पुग्नलाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नलाई कृतज्ञता प्रकट कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले कार्यक्रमा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। उनले नानी आयुष लामाको एकल एल्बम जीटीए प्रमुख अनित थापाको सहयोगमा आउन लागेको जानकारी गराएका छन्।

त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै नानी आयुष लामाले सबैलाई साथ र सहयोगको लागि धन्यवाद दिन्दै आफ्नो एकल एल्बम चाढ़ै बजारमा आउने जानकारी गराउँदै सबैलाई साथ, सहयोग र माया दिने निवेदन गरेका छन्।

About Author

Advertisement