भूकम्पपीडितका लागि राहत बोकेर नेपाली सेनाको विमान म्यानमार तर्फ

IMG-20250402-WA0092

काठमाडौँ: शुक्रबार गएको शक्तिशालि भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज बुधबार बिहान बंगलादेश हुँदै त्यसतर्फ जाने भएको छ।
म्यानमारको मध्यक्षेत्रमा ७.७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो। जसमा सोमबारसम्म कम्तीमा २७ सय मानिसको ज्यान गएको र ४५ सय बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको छ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, टर्बोप्रोप इन्जिन भएको सेनाको सीएन–२३५ विमान राहत बोकेर म्यानमार जाने अन्तिम तयारीमा छ। ‘म्यानमानर जाने हवाई रुटअन्तर्गत पर्ने केही मुलुकका आकाशको उडान अनुमति तथा भिसा प्राप्तिको केही काम बाँकी छ। अरु तयारी पूरा भइसकेको छ।’ उनले म्यानमारमा नेपाली सेनाको जहाज पहिलोपटक जान लागेको बताए। ‘छिमेकी मुलुकहरुमा आइपर्ने प्राकृतिक विपतमा सेनाको जहाज परिचालन भएको सम्भवत: पहिलोपटक हो। त्यसमाथि म्यानमार त पहिलो उडान हुन लागेको हो,’ सहायक रथीसमेत रहेका सैनिक प्रवक्ता केसीले कान्तिपुरसँग भने,‘यो हाम्रो देशका तर्फबाट सोलिडारीटी पनि हो। अर्को कुरा त्यहाँ केही नेपाली भाषी समुदाय पनि रहेकाले पनि हामी सैनिक उडानबाट मेडिकल टिम र सेनाका उद्धारविज्ञहरुसहित १६ जना हाराहारी पठाउँदै छौं।’
कूटनैतिक उडानका रुपमा सेनाको जहाजलाई मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अनुमति जारी गरिसकेको स्रोतले बतायो। यो उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालकदलको टोली म्यानमार जाँदै छ। जहाजमा १६ जनामध्ये १२ जना सेनाकै मेडिकल टोली रहेका छन्। यो विमान बिहीबार नेपाल फर्किने छ। तर सैनिक मेडिकल र अरु उद्धारकर्मीहरु त्यही रहने छन्।
सैनिक प्रवक्ता केसीले उक्त टोली कम्तीमा ६ दिन म्यानमारमा उद्धार तथा घाइतेहरुको उपचारमा खटिने बताए। सैनिक विमान उनीहरुलाई चैत २६ गते पुन काठमाडौंबाट बंगलादेश हुँदै म्यानमार जाने भनिएको छ।

About Author

Advertisement