सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीमा भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ। विभिन्न आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न सुनसरीमा कार्यरत सुरक्षाकर्मीका लागि नमुना अभ्यास गरिएको हो।
“देशमा हुने विभिन्न किसिमका घटनालाई लिएर सर्वसाधारणले आन्दोलन गर्ने गर्छन्, यस्ता घटनालाई सुरक्षित ढङ्गले समाधान गर्नुपर्ने हुन्छ,” अभ्यासमा सहभागी एक सुरक्षाकर्मीले भने, “मानव अधिकारको सम्मान गर्दै भीड नियन्त्रण गर्न र क्षति हुन नदिन यस्तो अभ्यास गरिन्छ।”
भीडलाई भगाउन वा तितरबितर गर्ने र सुरक्षाकर्मी पनि सुरक्षित हुने, आगजनी तथा तोडफोड रोक्नेजस्ता घटनालाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले संयुक्त रूपमा उक्त अभ्यास गरेका हुन्। तीनवटै सुरक्षा निकायबीच आपसी समन्वयका आधारमा रणनीति बनाइ सुरक्षा ‘स्थिति नियन्त्रण’ पूर्वअभ्यास गरेका हुन्। जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारीले प्रयोगात्मक अभ्यासले भीड नियन्त्रण तालिममा सिकेका सीप र ज्ञानलाई कार्यक्षेत्रमा प्रयोग गर्दा उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए।
दङ्गा नियन्त्रणमा प्रहरीले अवलम्बन गर्ने भीडको स्थितिअनुसार न्यून सङ्ख्यामा कर्मचारी परिचालनदेखि भीड उत्तेजित र हिंसात्मक अवस्थामा प्रवेश गर्ने चरणसम्म पुग्दा आवश्यकताअनुसार थप बल र सुरक्षा साधनको परिचालन, दङ्गा नियन्त्रणमा गिरफ्तार, घाइतेको उद्धार, सार्वजनिक तथा भौतिक सम्पत्तिको सुरक्षासमेतलाई ध्यान दिएर अभ्यासको नमुना प्रदर्शन गरिएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शान्ति, सुरक्षा कायम गर्न र विभिन्न गतिविधिमा हुलदङ्गा नियन्त्रणमा प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने भएकाले संवेदनशील हुन, कार्यक्षेत्रमा आफ्ना सीप र अनुभवलाई मानव अधिकारका विषयमा समेत सचेत हुँदै कार्यकुशलता देखाउनुपर्नेमा जोड दिए।










