भारी वर्षा र पहिरोले दार्जीलिङ अस्तव्यस्त

FB_IMG_1781869295868

दुधेस्थित बेली ब्रिज निर्माणका लागि सांसद राजु बिष्टद्वारा मुख्यमन्त्रीसँग माग

दार्जीलिङ: बिहीबार राति देखि सुरु भएको मुसलधारे वर्षाका कारण दार्जीलिङ जिल्लाका विभिन्न स्थानहरूमा पहिरो जानुका साथै बाढीको जस्तो स्थिति सिर्जना भएको छ। यसैक्रममा दार्जीलिङका भारतीय लोकसभा सदस्य (सांसद) राजु बिष्टले जिल्ला मजिस्ट्रेट र अन्य वरिष्ठ अधिकारीहरूसहित प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा सांसद बिष्टले मिरीक भ्यालीलाई सिलगढीसँग जोड्ने राज्य राजमार्ग १२ (एसएच-१२) अन्तर्गत दुधेस्थित बालासन नदीमाथि निर्माण गरिएको अस्थायी ह्यूम पाइप पुल बगेको स्थानको विशेष अवलोकन गर्नुभयो।
भारत-नेपाल सीमा क्षेत्रको रणनीतिक संवेदनशीलता र स्थानीय जनजीवनका लागि यो मार्ग अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।
विगत सम्झिँदै सांसद बिष्टले भन्नुभयो, “गत ५ अक्टोबर २०२५ मा यहाँको मूल पुल बगेपछि तत्कालीन तृणमूल कांग्रेस सरकारले अस्थायी ह्यूम पाइप पुल निर्माण गरेको थियो। तर मनसुनको सुरुवात हुनासाथ पहिलो ठुलो वर्षाले नै यसलाई बगाइदिएको छ। यस्ता अस्थायी संरचनाहरू मनसुनका बेला बारम्बार बग्ने खतरा रहन्छ, जसले जनतालाई सास्ती दिनेछ।”
मनसुन अझै तीव्र हुने सम्भावनालाई मध्यनजर गर्दै यहाँ स्थायी र भरपर्दो समाधान खोज्नु जरुरी रहेको उहाँले औंल्याउनुभयो।
यस विषम परिस्थितिलाई दृष्टिगत गर्दै सांसद बिष्टले पश्चिम बंगालका माननीय मुख्यमन्त्री शुभेन्दु अधिकारीजीसँग सम्पर्क गरी दुधेमा यथाशीघ्र यातायात सुचारु गर्न सेना र/वा सीमा सडक संगठनलाई परिचालन गरेर ‘बेली ब्रिज’ निर्माण गरिदिन माग गर्नुभएको छ।
यसका साथै, दार्जीलिङ पहाड, तराई र डुअर्स क्षेत्रमा सम्भावित विपद्को छिटो सामना गर्न अतिरिक्त जेसीबी, बुल्डोजर, आवश्यक जनशक्ति र एसडीआरएफ तथा एनडीआरएफका टोलीहरू तैनाथ गर्न पनि उहाँले मुख्यमन्त्रीसमक्ष अनुरोध गर्नुभएको छ।
हाल जिल्ला प्रशासनले जनताको सुरक्षा र निरन्तर आउजाउलाई ध्यानमा राख्दै ठुला तथा साना सवारी साधनका लागि वैकल्पिक मार्गहरूको व्यवस्था गरेको छ। “राज्यको भाजपा सरकारका लागि यस क्षेत्रका जनताको सुरक्षा र कल्याण सधैं पहिलो प्राथमिकता हो र हामी स्थितिमाथि २४सै घण्टा निगरानी राखिरहेका छौँ,” सांसद बिष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै भन्नुभएको छ।

About Author

Advertisement