काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि नयाँ नेपाली राजदूत नियुक्त गरेका छन्। सोमबार उनले भारत, चीन र इजरायलका लागि आवासीय राजदूतहरू नियुक्त गरेका हुन्।
भारतका लागि नियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे हुन्। त्यसैगरी, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई नयाँ नेपाली राजदूतका रूपमा नियुक्त गरिएको छ। राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार, सोमबार नै शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष तीनै नव नियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिए।
सरकारले यस वर्ष सेप्टेम्बरको पहिलो हप्तामा १३ देशमा राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइका क्रममा दुई जनाको नाम अस्वीकृत भएको थियो। साथै, विवादमा परेपछि एक जनाले आफ्नो नाम फिर्ता लिएका थिए।
संसदीय सुनुवाइबाट अनुमोदित १० जना उम्मेदवारहरूको नाम एग्रिमो स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशहरूमा पठाएको थियो।
तीमध्ये भारत, चीन र इजरायलका लागि सिफारिस गरिएका नेपाली राजदूतहरूको नाम सम्बन्धित देशहरूबाट एग्रिमो स्वीकृति पाएको थियो। त्यसपछि उनीहरूलाई राजदूत नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो।





