कोलकाता: भारतीय सेनामा भर्नाका लागि अग्निपथ योजना र नियमित क्याडर अन्तर्गतको अनलाइन साझा प्रवेश परीक्षा (सीईई) आगामी जुन १ देखि सुरु हुने भएको छ। भर्ना वर्ष २०२६-२७ का लागि सञ्चालन हुन लागेको उक्त परीक्षा आगामी जुन १२ सम्म चल्ने भारतीय रक्षा मन्त्रालय मातहतको प्रेस सूचना ब्यूरो (रक्षा विङ) ले जनाएको छ। परीक्षा पारदर्शी र व्यवस्थित बनाउन पश्चिम बंगालका प्रमुख आठ सहरहरू आसनसोल, दुर्गापुर, हुग्ली, हावडा, कल्याणी, कोलकाता, पश्चिम मिदनापुर र सिलिगुढीमा परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन्। पूर्ण रूपमा कम्प्युटरमा आधारित (सीबीटी) प्रणालीबाट सञ्चालन हुने यस परीक्षाका लागि गत अप्रिल १० सम्म आवेदन खुला गरिएको थियो।
सफलतापूर्वक आवेदन दर्ता गराएका उम्मेदवारहरूले भारतीय सेनाको आधिकारिक वेबसाइटबाट आफ्नो प्रवेश पत्र (एडमिट कार्ड) डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ। प्राविधिक वा अन्य कारणले हालसम्म प्रवेश पत्र प्राप्त गर्न नसकेका आवेदकहरूलाई तुरुन्त आफ्नो नजिकैको सैनिक भर्ना कार्यालयमा सम्पर्क गर्न सेनाले आग्रह गरेको छ। यसैगरी, परीक्षार्थीहरूको पूर्वतयारीका लागि वेबसाइटमा ‘मक टेस्ट’ र आवश्यक जानकारीहरू समेत उपलब्ध गराइएको छ। यस परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूलाई दोस्रो चरणको शारीरिक जाँच तथा भर्ना र्यालीका लागि छुट्टै सूचना जारी गरिने सैन्य स्रोतले जनाएको छ। सेनाले भर्ना प्रक्रिया पूर्ण रूपमा योग्यतामा आधारित हुने स्पष्ट पार्दै उम्मेदवारहरूलाई विचौलिया र नक्कली एजेन्टहरूको प्रलोभनमा नपर्न विशेष सचेत गराएको छ।











