काठमाडौँ: नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनका लागि नयाँ र कडा कानुनी प्रावधान लागू गरेको छ। अब भारतीय सवारी साधनले नेपालको सीमाभित्र प्रवेश गर्नुअघि अनिवार्य रूपमा भन्सार अनुमति लिनुपर्ने र तोकिएको दैनिक शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको हो। भन्सार महाशुल्क ऐन २०७१ बमोजिम लागू गरिएको यस नियमअनुसार बिना अनुमति नेपालका सडकमा भारतीय सवारी साधन गुडाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
नयाँ व्यवस्थाअनुसार नेपाल प्रवेश गर्ने मोटरसाइकल तथा स्कुटरले प्रतिदिन १०० रुपैयाँ, तीन पाङ्ग्रे सवारीले ४०० रुपैयाँ र कार, जीप वा भ्यान जस्ता चार पाङ्ग्रे सवारीले प्रतिदिन ६०० रुपैयाँ भन्सार शुल्क बुझाउनुपर्नेछ। शुल्क बुझाए पनि कुनै पनि विदेशी सवारी साधन एक आर्थिक वर्षमा बढीमा ३० दिनसम्म मात्र नेपालमा रहन पाउने समय सीमा तोकिएको छ। यो अवधि लगातार वा पटक–पटक गरी गणना गरिनेछ। यदि ३० दिनको अवधि समाप्त भएपछि पनि सवारी साधन नेपालमै भेटिएमा मोटरसाइकलको हकमा प्रतिदिन २ हजार र चार पाङ्ग्रेको हकमा २५ सय रुपैयाँ अतिरिक्त जरिवाना लाग्नेछ।
नियम उल्लंघन गर्ने वा तोकिएको भन्दा बढी समय बस्ने सवारी साधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिई स्थायी रूपमै जफत गर्न सक्ने कडा प्रावधान समेत राखिएको छ। यसका साथै भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा समेत अनिवार्य भन्सार तिर्नुपर्ने नियमले सीमावर्ती बजारको व्यापारिक गतिविधिमा समेत असर पर्न थालेको छ।







