भारतीय उपराष्ट्रपति राधाकृष्णनद्वारा ७८औँ चार्टर्ड एकाउन्टेन्ट्स दिवसको उद्घाटन

FB_IMG_1782923227755

आईसीएआईको परीक्षा प्रणाली र आर्थिक योगदानको प्रशंसा

​नयाँ दिल्ली: भारतीय उपराष्ट्रपति सी. पी. राधाकृष्णनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) को ७८औँ चार्टर्ड एकाउन्टेन्ट्स दिवस तथा स्थापना दिवस समारोहको बुधबार भव्य उद्घाटन गरेका छन्। नयाँ दिल्लीस्थित विज्ञान भवनमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उपराष्ट्रपति राधाकृष्णनले भारतको द्रुत आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्सी (सीए) पेसाले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले देशको वित्तीय प्रणालीलाई पारदर्शी र मजबुत बनाउन सीएहरूको योगदान अतुलनीय रहेको उल्लेख गरे।
​समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपतिले आईसीएआईले स्थापनाकाल देखि नै कायम राखेको कडा र निष्पक्ष परीक्षा प्रणालीको सराहना गरे। योग्य र दक्ष जनशक्ति उत्पादन गर्न यस संस्थाले अवलम्बन गरेको उच्च मापदण्डकै कारण भारतीय सीएहरूको साख विश्वभरि स्थापित भएको उनको भनाइ थियो। उपराष्ट्रपतिको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत सार्वजनिक गरिएका तस्बिरहरूमा समारोहको गरिमामय झलक र देशभरिका चार्टर्ड एकाउन्टेन्टहरूको उत्साहजनक सहभागिता देख्न सकिन्छ।

​समारोहमा आईसीएआईका अध्यक्ष प्रसन्न कुमार डी., उपाध्यक्ष मङ्गेश पी. किनरे लगायत संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो। स्थापना दिवसको यस विशेष अवसरमा देशभरिबाट आएका हजारौँ चार्टर्ड एकाउन्टेन्ट तथा विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम वित्तीय क्षेत्रको व्यावसायिकता र आगामी कार्यदिशामाथि मन्थन गर्दै सफलतापूर्वक सम्पन्न भयो।

About Author

Advertisement