एफासआईआईको राष्ट्रिय सङ्गोष्ठीमा औद्योगिक विकासमाथि मन्थन
कोलकाता: अन्तर्राष्ट्रिय एमएसएमई (लघु, घरेलु तथा साना उद्योग) दिवस २०२६ को अवसरमा फेडरेसन अफ एसोसिएसन्स अफ स्मल इन्डस्ट्रिज अफ इन्डिया (एफासआईआई) द्वारा कोलकातामा ‘विकसित बङ्गालमा एमएसएमईको असीम सम्भावना’ विषयक एक दिवसीय राष्ट्रिय सङ्गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। इन्फ्राफ्युजन इन्जिनियरिङ लिमिटेड (आईएफएल) को सहयोगमा आयोजित उक्त गरिमामय कार्यक्रममा उद्योग जगत्का प्रतिनिधि, सरकारी अधिकारी, बैंकिङ तथा वित्तीय संस्थाका प्रमुख, स्टार्टअप, शिक्षाविद् र उद्यमीहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित मन्त्री डा. शङ्कर घोष, मन्त्री
डा. इन्द्रनील खान, मन्त्री बिशाल लामा एवं मन्त्री
अशोक डिन्डा लगायतका गणमान्य व्यक्तिहरूले एमएसएमई क्षेत्र आर्थिक विकास, रोजगारी सिर्जना, नवप्रवर्तन र आत्मनिर्भरताको प्रमुख आधार भएको कुरामा जोड दिए।
समारोहलाई सम्बोधन गर्दै एफासआईआईका राष्ट्रिय अध्यक्ष शैलेश्वर पाण्डाले पश्चिम बङ्गालको दिगो विकास, समृद्धि र रोजगारी वृद्धिका लागि एमएसएमई क्षेत्रलाई विकासको मुख्यधारमा सामेल गराउनु अत्यावश्यक रहेको बताए। यो क्षेत्रले युवाहरूलाई जागिर खोज्नेबाट जागिर दिने (रोजगारदाता) बनाउन सक्ने उल्लेख गर्दै उनले राज्यमा उद्योगमैत्री नीति, सहज स्वीकृति प्रक्रिया, वित्तीय सहायता, सुदृढ औद्योगिक पूर्वाधार र निर्यात प्रवर्द्धन गर्ने वातावरणको आवश्यकता औँल्याए। सङ्गोष्ठीमा औद्योगिक नीति सुधार, कर्जा सुविधा, डिजिटल रूपान्तरण, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित उत्पादन, प्राविधिक नवप्रवर्तन, स्टार्टअप विकास, महिला उद्यमशीलता, सीप विकास र ग्रामीण औद्योगिक विस्तार जस्ता समसामयिक विषयहरूमाथि गहन मन्थन गरिएको थियो।
कार्यक्रमका अवसरमा इन्फ्राफ्युजन इन्जिनियरिङ लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत आर्थिक रूपमा विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सिलाई मेसिनहरू वितरण गरिएको थियो। उक्त अवसरमा रामकृष्ण मिसनका जगद्गुरु शङ्कराचार्य स्वामी परमानन्द गिरी जी महाराज, भारत सेवाश्रम सङ्घका पद्मश्री स्वामी प्रदीप्तानन्द जी महाराज (कार्तिक महाराज) एवं महाराज हिरण्यमय गोस्वामी जी सहितका आध्यात्मिक व्यक्तित्वहरूले उद्योग, उद्यमशीलता र राष्ट्र निर्माणको अन्तरसम्बन्धलाई रेखाङ्कित गरे। उद्योग जगत्मा पुर्याएको विशिष्ट योगदानका लागि डा. अजित कुमार जैन, सञ्जय गोयन्का, अनिल चनानी र सोमनाथ अडुकियालाई सम्मानित गरिएको उक्त कार्यक्रमलाई सफल बनाउन एफासआईआई पश्चिम बङ्गालका अध्यक्ष सञ्जय सुरेका, राष्ट्रिय आर्थिक सल्लाहकार शोभित छवछरिया र उपाध्यक्ष देवदत्त बनर्जी लगायतका पदाधिकारीहरू अहोरात्र खटिएका थिए। समारोहमा एफासआईआईले पश्चिम बङ्गाललाई ‘विश्वकर्मा बङ्गाल’ का रूपमा विकसित गर्ने आफ्नो दृढ सङ्कल्पलाई पुनः दोहोर्याएको छ।










