‘भारती’मा पारसमणि प्रधानको ‘सम्पादकको पृष्ठ’ सुक्ष्म चियो  (भाग ३)

सम्पादकको पृष्ठ, भारती वर्ष ४, संख्या ५ नोभेम्बर १९५२ कार्तिक २००९

नेपाली भाषाको रूप

“नेपाली भाषा समस्त नेपालीहरूको भाषा हो। नेपाली राजाको पनि यही, नेपाली रंकको पनि यही हो …………नेपालको नेपालीको पनि यही हो, भाक्सू वा दार्जीलिङका नेपालीको पनि यही हो ।…………हो स्थान विशेषले गर्दा नेपाली भाषामा सो सो स्थानका प्रमुख भाषाको असर पर्न गएको छ। जस्तै धर्मशालातिरका नेपालीहरू उर्दु शब्द बढ़तै प्रयोग गर्छन्, नेपाली शब्दहरू केही बेग्लै प्रकारले लेख्छन्। तर विविध ठाउँका नेपालीहरूमा पत्र-पत्रिका, पुस्तक-पुस्तिका, सभा-संगठन र वैवाहिक सम्बन्ध बढ्न थालेपछि यो विभन्नता हराउँछ। शिक्षाले पनि एकिकरण ल्याउँछ।……….नेपाली भाषाका पत्र-पत्रिकाका सम्पादकहरूले भाषाको एकीकरणमा ध्यान दिए, ठाउँ ठाउँमा चलेका शब्दरूप वा वाक्यांशहरूमा केही भिन्नता वा अनौठोपन देखापरे तिनमा आफ्नो पत्र-पत्रिकाद्वारा पाठकको ध्यान आकर्षित गरे, ठाउँ-ठाउँमा लेखक-लेखिकाहरूले भाषाका विषयमा तर्क सभाहरू स्थापित गरी यस्ता कुराहरू छलफल गरे नेपाली भाषामा एकता आउन धेरबेर लाग्नेछैन।……सबैले एउटै नेपाली कोश, एउटै नेपाली व्याकरण चलाउने निश्चय गरे यो विभिन्नता एक छिनमै हराउनेछ। हामीले आँखा भएर पनि अन्धा हुनुहुँदैन, कान भएर पनि बहिरा हुनुहुँदैन, त्यति मात्र हो अनि यसरी एकीकरण गराउनमा विद्वानहरूले ‘मेरो गोरूको मोल बाह्रै टक्का’ भनिरहनु हुँदैन। बहुमत स्वीकार गर्ने बानी प्रत्येक नेपालीले गर्नुपर्छ किनभने नेपाली भाषा कुनै व्यक्तिको पेवा होइन।” (हस्ताक्षर) पारसमणि प्रधान।

यत्तिका वर्षहरू पछाड़ि पनि हाम्रो नेपाली भाषाको एकरूपता माथि विभिन्न प्रकारको तर्कहरू देखा पर्छन्, जसको समाधानका बुँदा उक्त प्रसङ्गबाट आज पनि प्राप्त गर्न सकिन्छ। यसरी नै पारसमणि प्रधान ‘आफ्नो बारे’ पुस्तकमा लेख्नुहुन्छ – “नेपाली भाषाको उन्नति गर्ने र भाषामा एकरूपता ल्याउने मुख्य उद्देश्य थियो ‘चन्द्रिका’ मासिक पत्रिकाको। मेरो आफ्नो नेपाली भाषा र व्याकरणको ज्ञान सन्तोषजनक थिएन, तर भाषा सिक्ने र भाषामा एकरूपता ल्याउने ठूलो इच्छा, आँट र आत्मविश्वासको कमि भने थिएन।”

सम्पादकको पृष्ठ, भारती वर्ष ४, संख्या ६ दिसम्बर १९५२ मङसीर २००९ 

“एक समयको सभ्यताको केन्द्र रोममा बनेको जगतप्रसिद्ध धर्ममन्दिरको कुरा, मन्दिर ठड़ियो। आफ्नो संस्कृतिको केन्द्र यहीं केन्द्रीभूत हुने ठहरियो। यस्तो मन्दिरको जस कसलाई दिने भन्ने कुराको चर्चा चल्यो। कसैले सिजरलाई, कसैले पोपलाई, कसैले सन्त जर्ज र कसैले सिद्ध पिटरको नाउँ लिए। आखिरमा मन्दिर अघि एउटा गोरूको मूर्ति  खड़ा गरियो, सबैले प्रशंसा गरे। त्यस गोरूले त्यो विशाल मन्दिर खड़ा गर्नका निम्ति एक एक गरी ढुंगा ओसारेको थियो, जस पाउनलाई होइन तर आफ्नो कर्तव्य पूरा गर्नलाई। त्यो कर्तव्यशील गोरूको छेऊमा एउटी बालिकाको मूर्ति खड़ा गरियो। बालिकाको हातमा थियो एक बिटा घाँस। मन्दिरको जग बसालेको दिनदेखि मन्दिरको गजुर बसालेको दिनसम्म त्यस बालिकाले प्रतिदिन एक मुठी घाँस त्यो गोरूलाई खुवाएकी थिई, कीर्तिका निम्ति होइन, प्रेमका निम्ति। 

नेपाली भाषाको माध्यम प्रवेशिका परिक्षाका निम्ति पश्चिम बंगालको सरकारले बल्ल स्वीकार गरेको शुभसम्वाद भर्खर मात्र सुनियो। यो खबरले धेरैका आँखाबाट आँशुका धारा बगे – कसैका आँखाबाट हर्षाश्रुका धारा औ कसैका आँखाबाट शोकाश्रुका। यो महान कार्यका निम्ति अब जस पाउने कसले? कीर्ति दिनु कसलाई? श्रेयको अधिकारी को?…………………  ‘म कर्ता हूँ’ भन्नुता अज्ञानी पुरूषको लक्षण हो। ढेंडु बन्न नखोज्नु नै श्रेयकर हुनाले यस कामका निम्ति कसैलाई पनि श्रेय नदिनु नै असल होला। श्रेयका अधिकारी कोही छन् भने नेपाली भाषाका पुस्तक-पुस्तिका, पत्र-पत्रिका प्रेमपूर्वक पढ़ने पाप रहित बालक-बालिकाहरू नै छन्, जसले श्रेय पाउने गोरूलाई एक मुठी घाँस दिनहुँ खुवाएर शक्ति प्रदान गरेको काम गरिरहेका छन् वा गर्नेछन्l’’

(हस्ताक्षर) पारसमणि प्रधान।

सम्पादकको पृष्ठ, भारती वर्ष ४, संख्या ७ जनवरी १९५३ पूस २००९

विभिन्न अंकहरूमा विभिन्न देशका घटनाहरूलाई लिएर उदाहरण कथा बनाएर सम्पादकीयमा प्रस्तुत गरे झैं एउटा अर्ति कथासहित यो अंकमा सम्पादक समाजका युवाहरूलाई यस्तो सन्देश प्रेषण गर्छन्  – “सानो भन्दा सानो काम पनि इमान्दारीसित गरे कुनै लुते एकदिन लखपति हुनसक्छ, मिहिनेत गर्ने बानी गरे कुनै जुठे एक दिन जवाहरलाल हुनसक्छ। तर हाम्रा नवयुवकहरू दिनदिनै उँभोभन्दा उँधै घचेटिंदै छऩ् । यसको कारण खूनको खराबी नभई अरू के हुन सक्ला तब?” (हस्ताक्षर) पारसमणि प्रधान। क्रमश:

(लेखिका गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष अनि सामाजिक कार्यकर्ता हुनुहुन्छ)

About Author

Advertisement