भारतसँगको संघर्ष दुई विचारधाराको युद्ध हो: असिम मुनीर

Asim-Munir-(1)-1760782546102

रावलपिण्डी: पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरले गत वर्ष भारतसँग भएको चार दिने सैन्य संघर्षलाई ‘दुई विचारधारा बीचको लडाइँ’ को संज्ञा दिनुभएको छ। रावलपिण्डीस्थित सैन्य मुख्यालयमा आयोजित ‘मारका-ए-हक’ को पहिलो वार्षिकोत्सवका अवसरमा बोल्दै उहाँले उक्त संघर्ष केवल दुई सेनाबीचको परम्परागत युद्ध नभई वैचारिक रूपमा निर्णायक युद्ध भएको दाबी गर्नुभयो। पाकिस्तानले गत वर्ष मे ६ देखि १० सम्म भएको यस सैन्य तनावलाई ‘मारका-ए-हक’ को नाम दिएको छ। सो अवसरमा मुनीरले संघर्षका क्रममा पाकिस्तानको रणनीति भारतको तुलनामा श्रेष्ठ रहेको दाबी गर्दै भारतले पाकिस्तानको संप्रभुता उल्लंघन गरेको र त्यसको जवाफ राष्ट्रिय एकता तथा सैन्य शक्तिले दिएको बताउनुभयो।
​भविष्यका चुनौतीहरूबारे चर्चा गर्दै सेना प्रमुख मुनीरले अबका युद्धहरू बहु-आयामी (मल्टी-डोमेन) हुने उल्लेख गर्नुभयो। यसका लागि पाकिस्तानले आफ्नो सैन्य प्रविधि, हार्डवेयर र तालिमलाई आधुनिक बनाइरहेको उहाँको भनाइ थियो। उहाँले शान्ति कायम राख्नका लागि ‘विश्वसनीय प्रतिरक्षा’ हुनुपर्नेमा जोड दिँदै हेंगोर श्रेणीका पनडुब्बी, नयाँ रकेट बल र अत्याधुनिक लडाकु विमानहरूको खरिद जस्ता आधुनिकीकरण कार्यक्रमहरूको समेत चर्चा गर्नुभयो।
​यसैबीच, पाकिस्तानका ऊर्जा मन्त्री अली परवेज मलिकले आफूलाई प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीरको टोलीको ‘साधारण कार्यकर्ता’ बताएपछि त्यहाँ नयाँ राजनीतिक विवाद सुरु भएको छ। मन्त्रीको यस्तो बयानले पाकिस्तानको राजनीतिमा सैन्य हस्तक्षेप र ‘हाइब्रिड’ शासन व्यवस्थालाई प्रष्ट पारेको भन्दै आलोचकहरूले यसलाई लोकतान्त्रिक मर्यादा विपरीतको कार्य बताएका छन्। सामाजिक सञ्जालमा समेत यसको तीव्र विरोध भइरहेको छ भने अर्कोतर्फ खैबर पख्तुनख्वा विधानसभामा मुनीर र शरीफलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग सहितको प्रस्ताव समेत पेश गरिएको छ।

About Author

Advertisement