भाजपा सिक्किममा प्रतिष्ठित व्यक्तिविशेषहरू सामेल हुने क्रम जारी

Untitled-1-copy-18

गान्तोकः भारतीय जनता पार्टीमा प्रतिष्ठित व्यक्तिविशेषहरू सामेल हुने क्रम जारी छ। यसै क्रममा आज प्रदेश अध्यक्ष डीआर थापाको निवासमा एसआरपीका पूर्व कार्यकारी अध्यक्ष एवं साहित्यकार चक्रपाणी भट्टराई, रिनाकबाट अवकाशप्राप्त सह निर्देशक इश्वर सिंह बिस्ट, अवकाशप्राप्त शिक्षक एवं विश्व हिन्दु परिषद्का जिल्ला अध्यक्ष बीएस गौतम, अवकाशप्राप्त सब इन्स्पेक्टर एचबी प्रधान, अवकाशप्राप्त वरिष्ठ एकाउण्टेन्ट डीपी पुष्प शर्मा (अध्यक्ष, च्याङ्ग्रे धारा युथ सोसाइटी), समाजसेवक नवीन कुमार विश्वकर्मा, समाजसेवक हरि बस्नेत अनि सबिन बस्नेत साथै समाजसेवक बलबहादुर चौहानले भारतीय जनता पार्टीमा प्रवेश लिए। प्रदेश अध्यक्ष डीआर थापाले पार्टीको खदा लगाएर उनीहरूलाई स्वागत जनाएका थिए।

सिक्किमको गुमेको हक अधिकारको पुनर्बहाली, राज्यको आर्थिक उत्थान अनि समग्र विकास सुनिश्चित गर्न अब भारतीय जनता पार्टी एकमात्र विकल्प रहेको ठहर गर्दै उनीहरूले भाजपालाई चुनेको प्रदेश भाजपाद्वारा जारी विज्ञप्तिमा बताइएको छ। सुशासन अनि समग्र विकासको मूल सिद्धान्तमा देश तथा विभिन्न राज्यहरूमा सरकार चलाइरहेको भारतीय जनता पार्टी अब सिक्किममा पनि जनताको रोजाईको प्रमुख विकल्प बन्दै गइरहेको उनीहरूको भनाई छ। प्रदेश अध्यक्ष डीआर थापाले सबै नयाँ सदस्यहरूलाई सिक्किम र सिक्किमे जनताको हितमा कार्य गरेर भोलिको सुनौलो भविष्य निर्माणमा लागिपर्न आह्वान गरेका छन्।

About Author

Advertisement