भाजपा सिक्किमद्वारा नेपाली भाषा मान्यता दिवस पालन

n6273938111724181611968a51bc5d5a8f874f2f246787b5b3e82e79e742e2f3b42aac48be248d4630e3d32

गान्तोक: भारतीय जनता पार्टी, सिक्किमले आज तिब्बत रोड, गान्तोकस्थित आफ्नो कार्यालयमा ३३औं नेपाली भाषा मान्यता दिवस पालन गरेको छ। भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता दिएको ऐतिहासिक दिनको अवसरमा पार्टीका वरिष्ठ पदाधिकारीगण साथै कार्यकर्ताहरूको बाक्लो उपस्थितिबीच विविध रचनात्मक कार्यक्रमहरू समावेश गरिएको थियो।
नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनप्रति पार्टीको गहिरो सम्मान र प्रतिबद्धतालाई झल्काउने कार्यक्रममा सिक्किमभरिका भाजपा कार्यकर्ताहरूको उपस्थिति थियो। पार्टी उपाध्यक्ष पेमा वाङ्ग्याल रिन्जिङ प्रमुख अतिथिको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिनेश चन्द्र नेपाल, डुकनाथ नेपाल साथै कार्यकारी सदस्य जनक गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उक्त जानकारी भाजपा सिक्किमले प्रेस विज्ञप्तिमा दिएको छ।
कार्यक्रमको थालनीमा नेपाली भाषाको संवैधानिक मान्यता प्राप्तिका लागि अतुलनीय योगदान पुऱ्याउने तत्कालीन मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी र स्वर्गीय अटल बिहारी वाजपेयीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। उनीहरुको समर्पण र अथक प्रयासलाई नेपाली भाषालाई भारतीय संविधानमा समावेश गराउने सङ्घर्षमा प्रमुख कोशेढुङ्गाको रूपमा मान्यता दिँदै स्मरण गरियो।
समारोहलाई सम्बोधन गर्दै प्रदेश कार्यकारी सदस्य जनक गुरुङको समृद्ध इतिहास र नेपाली भाषाको मान्यताका लागि लामो समयदेखिको सङ्घर्षमा केन्द्रित वक्तव्य पेश गरे। सोही प्रकारले पार्टी प्रवक्ता पासाङ शेर्पाले भाषा आन्दोलनको अवधि भाजपा नेतृत्वको योगदानमाथि प्रकाश पार्दै सङ्घर्षलाई समर्थन अनि सहयोग गर्न भाजपाले खेलेको महत्वपूर्ण भूमिकाको बारेमा उपस्थितजनलाई जानकारी गराए।
मुख्य वक्ताहरूले यस ऐतिहासिक उपलब्धिमा विभिन्न व्यक्ति र संस्थाहरूको अथक प्रयासबारे प्रकाश पारे। पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी र तत्कालीन सांसद दिलकुमारी भण्डारीको योगदानका साथै यस ऐतिहासिक कार्यमा विभिन्न राजनीतिक दल, संघसंस्था, साहित्यकार तथा अन्य प्रमुख व्यक्तित्वहरूले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको विशेष उल्लेख गरिएको थियो।
यस अवसरमा पार्टी प्रवक्ता नवीन भट्टराई, युवा मोर्चा प्रभारी ललित पोख्रेल शर्मा, युवा मोर्चा प्रवक्ता केएन शर्मा अनि पूर्व जिल्ला महामन्त्री पीके नेउपानेले आ-आफ्नो कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन पार्टीकी एकमात्र नगर पार्षद विन्ध्या सिञ्चुरी गरेकी थिइन्। बुर्तुकका मण्डल अध्यक्ष प्रदीप छेत्रीले स्वागत सम्बोधन राखिएको कार्यक्रमको अन्तमा पार्टी प्रवक्ता डीआर गिरीले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement