खरसाङ: खरसाङस्थित पार्टी कार्यालयमा भारतीय जनता पार्टी (भाजपा) खरसाङका सबै १५ वटा मण्डलका अध्यक्षहरू तथा प्रतिनिधिहरूको महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामालाई हार्दिक स्वागत गर्दै सफलताको शुभकामना व्यक्त गरिएको छ।

उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरूले उनीप्रति पूर्ण समर्थन जनाउँदै यस पटकको चुनावमा निश्चित रूपमा विजय हाँसिल गर्ने विश्वास व्यक्त गरे।

उनीहरूले यस पटक पार्टीले स्थानीय भूमिपुत्र तथा पार्टीकै समर्पित कार्यकर्तालाई उम्मेद्वार बनाएकोमा गर्व व्यक्त गर्दै यसले जनताको मन जित्ने विश्वास व्यक्त गरेका छन्। मण्डल अध्यक्षहरूले समेत दृढताकासाथ भने, यस पटक पश्चिम बंगालमा भाजपा सरकार गठन हुनेमा उनीहरू पूर्ण विश्वस्त छन्। यसको साथै गोर्खा समुदायले आफ्नो अधिकार र न्याय पाउने विश्वासका साथ यो चुनावमा ऐतिहासिक जित हासिल गर्ने प्रतिबद्धता जनाए।










