पार्टी अध्यक्षमाथि दिएको बयानको सुधार र माफिनामा दिनुपर्छ: सत्यवान छेत्री
खरसाङ: भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङमाथि दिएको बयानको युवा मोर्चा खरसाङ महकुमा समितिको तर्फबाट घोर विरोध जनाइएको छ। भाजपा अध्यक्ष सञ्जीव लामाको बयानको विरोध गर्दै युवा मोर्चा खरसाङ महकुमा समितिले गिध्द पहाडस्थित चौकी डाँडामा सभा गरेर पत्रकार सम्मेलन बोलाएर विरोध जनाएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान छेत्रीले भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गोजमुमो अध्यक्ष बिमल गुरुङमाथि आफ्नो बयान दिएर लाञ्छना र लाखेस गरेको विषयमा युवा मोर्चाको तर्फबाट घोर विरोध जनाउँदछौँ भनी बताएका छन्। उनले यो वक्तव्य पार्टीको नभएर सञ्जीव लामाको व्यक्तिगत हुनसक्छ भन्दै भाजपासित गोजमुमोको गठबन्धन २००९ देखि नै हो तर अहिलेसम्म यस्तो बयान कसैले दिएको थिएन भनी बताएका छन्। सत्यवान छेत्रीले सञ्जीव लामाको यो व्यक्तिगत रुपमा संकुचित विचार रहेको बताएका छन्। उनले अहिलेसम्म भाजपाको कुनै पनि जिल्ला अध्यक्षले यस्तो बयान दिएका थिएनन् तर सञ्जीव लामा जताभावी बोल्दै गरेको बताएका छन्। यस बयानको सञ्जीव लामाले सुधार गर्नु मात्र होइन तर माफी पनि माग्नुपर्छ कारण हामी यस विषयमा लिखित रुपमा दिनेछौँ भनी बताएका छन्। सत्यवान छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘कसैले मानिस नमानोस विमल गुरुङ पहाडको देवता नै हुन् र यो कुरा हामी मान्छौँ। सञ्जीव लामा एकजना ओहोदामा रहेका व्यक्ति भएकोले उनले दिएको बयानलाई आधिकारिक रूपमा सुधार गर्नुपर्छ। सुधार र माफीनामा मात्र होइन तर भाजपाले पनि एक्शन लिएको हुनुपर्छ। किनभने युवाहरुले प्याट्ट के पनि गर्नु सक्छ र यसको जिम्मेवारी हामी लिन सक्दैनौँ।’
उनले अघि भने, हामी भाजपाको घटक दलको रुपमा जिताउन कति के के गरेका छौं खरसाङका विधायकलाई याद छ। हामी यस बयानको विषयमा विधायकलाई लिखित रुपमा दिनेछौँ। हामी पार्टीगत रुपमा होइन तर मित्रताको हैसियतमा यस बयानको सुधार गरियोस्। सानो बयानले मित्रता र गठबन्धन नतोडियोस्।’










