गान्तोकः भारतीय जनता पार्टी, सिक्किमको विधानसभा प्रवास योजना अन्तर्गत आज पाकिम जिल्लाको रिनाक निर्वाचन क्षेत्रमा बुथ कार्यकर्ताहरूसित समन्वय बैठक सम्पन्न भयो। सभामा प्रदेश अध्यक्ष डीआर थापा, प्रदेश उपाध्यक्ष एवं पाकिम जिल्ला प्रभारी डुकनाथ नेपाल, महामन्त्री भरत दुलाल, अर्जुन राई, लोकसभा प्रवास योजनाका प्रदेश समन्वयक डा. राजु गिरी, जिल्ला अध्यक्ष दिलीप राज प्रधान लगायतका प्रदेश पदाधिकारीगण, जिल्ला, मण्डल अनि बुथ स्तरका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। विधानसभा प्रवास योजना अन्तर्गत सम्पन्न आजको कार्यक्रममा आगामी चुनाउलाई ध्यानमा राखेर तृणमूल स्तरमा निरन्तर सांगठनिक गतिविधि तथा विस्तारलाई तीव्र बनाउन जिल्ला प्रभारीको नेतृत्वमा एउटा कमिटी पनि गठन गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
आफ्नो छोटो सम्बोधनमा नवनियुक्त जिल्ला प्रभारी डुकनाथ नेपालले सिक्किममा भारतीय जनता पार्टीको संक्षिप्त इतिहास केलाउँदै राज्यमा भाजपा कार्यकर्ताहरूले आफ्नो सही क्षमतालाई निखारेर अघि बढ्नुपर्ने कुरामा जोर दिए। अहिले भारतीय जनता पार्टी विश्वकै सबैभन्दा शक्तिशाली राजनैतिक दल रहेको बताउँदै सिक्किमले भोगिरहेका सबै समस्याहरूको समाधान अब केवल भाजपासँग रहेको बताए। भाजपाले सिक्किममा जे चाह्यो त्यही हुने ठोकुवा गर्दै त्यसको निम्ति पहिला पार्टीलाई सांगठनिक रूपमा मजबुत बनाउनुपर्ने नेपालले बताए। यस क्रममा उनले भाजपालाई बाहिरको पार्टी भनेर लाञ्छना लगाउनेहरूको पनि आक्रमक शैलीमा खोइरो खन्दै भारतबाहिरको व्यक्तिले मात्र भाजपालाई बाहिरको पार्टी भन्न सुहाउने बताए।

उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा प्रदेश अध्यक्ष डीआर थापाले भारतीय जनता पार्टी सदैव आफ्नो मातृभूमिलाई शीरोपर राखेर राजनीति गर्ने पार्टी रहेको बताउँदै भाजपाबाट सिक्किमे जनतालाई कुनै प्रकारको धोका नहुने बताए। पार्टीको सिद्धान्तमा मातृभूमि प्रथम, पार्टी दोस्रो अनि व्यक्ति तेस्रो पंक्तिमा रहेको बताउँदै भाजपा सरकारमा आएको खण्डमा घाम जस्तो बनेर सबै भेदभावरहित, पारदर्शी अनि भ्रष्टाचारमुक्त शासन व्यवस्था दिने बताए। अध्यक्ष थापाले राज्यमा बढ्दो भ्रष्टाचार अनि भेदभावयुक्त शासन व्यवस्था अनि बेरोजगारी समस्याले ग्रसित सिक्किमवासीको निम्ति भाजपा एकमात्र आशाको किरण रहेको बताउँदै सिक्किम र सिक्किमे जनतालाई जिताउन प्रत्येक भाजपा कार्यकर्ताहरूले अहोरात्र खटेर काम गर्नुपर्ने बताए। सभालाई लोकसभा प्रभास योजनाका संयोजक डा. राजु गिरी, महामन्त्री अर्जुन राई आदिले पनि सम्बोधन गरे। यस अवसरमा लगभग ४० परिवारले भारतीय जनता पार्टीमा प्रवेश लिएको बताइएको छ।











