बिजनबारी: पुल बिजनबारी ग्राम पञ्चायतका निर्दलीय विजेता युवराज लिम्बु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। ७ सदस्यीय ग्राम पञ्चायतमा ५ सिट लिएर बीजीपीएम बहुमतमा रहेको छ। पञ्चायतको बोर्ड बीजीपीएमले नै गठन गर्ने भएको छ। पिन्टेल भिलेजमा पार्टी अध्यक्ष अनित थापाले आज बिहान एक साधारण भेटघाट कार्यक्रममा भाजपाबाट सामेल भएका पद्मा सुब्बा, रतन सुब्बा अनि स्वतन्त्र विजेता युवराज लिम्बुलाई पार्टीको झण्डा थमाएर पार्टीमा आधिकारिक रूपमा सामेल पनि गराएका थिए। पार्टी अध्यक्ष अनित थापाले पुल बिजनवारी ग्राम पञ्चायतको प्रधानको रूपमा पद्मा सुब्बा अनि उप प्रधानको रूपमा युवराज लिम्बुको नाम घोषणा गरे। त्यसरी नै नयाँनोर ग्राम पञ्चायतको प्रधानको रूपमा रतन सुब्बाको नामको घोषणा गरे।
अनित थापाले सबैलाई स्वागत गर्दै भने, “तीन चार दिन पहिला मात्र उनीहरूले बीजीपीएम परिवारमा आउने प्रस्ताव राख्नु भएको थियो। आज उनीहरू पूर्ण रूपमा परिवारमा जोडिनु भएको छ। सबैलाई स्वागत गर्दछु।”
उनले मिशन पुनर्मिलनको आधारमा नेताहरु, विजेताहरुको घर वापसी भएको हो भन्ने जनाउँदै भने, “चुनाव समयमा भएको घरभित्रको झगडा अब विस्तारै मिलाउँदैछौं। मैले कालेबुङमा भनेको थिए, हामीसँग जोडिनु आउनु हुनेहरू नयाँ होइनन् तर उनीहरुको घर वापसी मात्र हो। मैले पुनर्मिलन कार्यक्रमको घोषणा नै गरेको थिए। अहिले प्राय: सबै घर फर्केर आउनु हुँदैछ।”
पार्टीका कार्यकर्ताहरुलाई सन्देश दिँदै थापाले भने, “कार्यकर्ताहरुले पार्टीकाे निर्णय मानेको हुनुपर्छ।पार्टीको अनुशासनमा सबैजना बस्नुपर्छ। यदि कुनै पनि कार्यकर्ताहरुले पार्टीको अनुशासनको विरुद्ध काम गर्छ, पार्टीले उमाथि कडा अनुशासनको कार्यवाही गर्नेछ।”
नयाँनोरका रतन सुब्बामाथि बीजेपीका समर्थकहरूले सामाजिक बहिष्कार गरेको घटनामाथि बोल्दै थापाले भने, ” राजनीतिमा यता जानु, उता जानु साधारण कुरा हो। यो राजनैतिक संस्कार हो। यस्तो घटना हामी राष्ट्रिय स्तरमा नै देख्छौं। आफ्नो इच्छामा उहाँहरूले चुनाव लड्नु भयो। चुनाव जितेर कोसँग मिलेर काम गर्दा गाउँको विकासको निम्ति काम गर्नु सकिन्छ भन्ने सोचमा उहाँहरू स्वइच्छाले हामीसँग जोडिनु भयो। समाज बहिष्कार गर्ने सोच राख्ने व्यक्तिहरू समाजको निम्ति ठिक होइन। राजनीति अनि समाजलाई मिसाउने काम गर्नु हुँदैन। समाजको एक व्यक्तिको भूलले सबै सदस्यहरूलाई दाग लाग्छ। समाजले कुनै एक व्यक्तिलाई राजनैतिक शिकार बनाउनु खोज्दैछ।”
आजको भेटघाट कार्यक्रममा सभासद सतीश पोख्रेल अनि केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलको पनि उपस्थिति रहेको थियो।











