भाजपाद्वारा एसआईआर विषयमा स्पष्टीकरण

IMG-20260303-WA0092

एसआईआर भाजपाले होइन तर चुनाव आयोगले गरेको नितान्त कानुनी प्रक्रिया हो: सञ्जीव लामा

खरसाङ: भारतीय जनता पार्टीको समयमा मात्र एसआईआर भएको होइन तर यो कंग्रेसको समयदेखि नै भएको हो जुन नितान्त कानुनी प्रक्रिया हो भनी भारतीय जनता पार्टीले बताएको छ। भारतीय जनता पार्टीको तर्फबाट आज खरसाङमा एक पत्रकार सम्मेलन आयोजना गर्दै वर्तमानमा चलिरहेको मतदाता विशेष गहन संसोधन एसआईआरको विषयमा विस्तृत रुपमा स्पष्टीकरण दिएका छन्। उक्त पत्रकार सम्मेलनमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, जिल्ला महासचिव सोनाम लामा, सचिवहरु बिनय प्रसाद, निरज थापा, भाजपा खरसाङ विधानसभा समष्टिको संयोजक आरबी लामा, अधिवक्ता रमेश अग्रवाल आदि उपस्थित रहेका थिए। यस पत्रकार सम्मेलनमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले एसआईआरलाई लिएर विपक्षी पार्टीले राजनीति गरिरहेको भन्दै यो चुनाव आयोगले गरेको नितान्त कानुनी प्रक्रिया हो तर भाजपाले गरेको होइन भनी बताएका छन्। उनले यो भाजपाको सरकार हुँदा मात्र होइन तर कंग्रेसको सरकार हुँदा पनि पाँचपल्टसम्म भईसकेको र भविष्यमा पनि जुनै सरकार आए पनि एसआईआर प्रक्रिया चल्ने बताएका छन्। लामाले पहाडमा एसआईआरलाई लिएर भाजपाले जिम्मेवारी लिनु पर्ने भन्ने आरोपको खण्डन गर्दै विपक्षले‌ यो तथ्यहीन र अर्थहीन कुरा गरिरहेको आरोप लगाएका छन्। एसआईआर प्रक्रिया विषयमा बोल्दै लामाले भने, ‘एसआईआर प्रत्येक जिल्लामा जिल्लाधिकारीको अधीनमा राज्यको कर्मचारीहरुलाई लिएर भईरहेको छ। यस एसआईआरमा धेरै निर्वाचितहरुको पनि न्यायिक प्रक्रियाको सूचीमा रहेको छ। यसमा मेरो आफ्नै परिवारको पनि धेरैको परेको छ। यो कानुनी प्रक्रिया हो। यसमा सिस्टमले काम नगरेको हुनसक्छ। तर यो भाजपाले गरेको होइन अनि विपक्षको भनाई तथ्यहीन र अर्थहीन छ।’
भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले
एसआईआर सम्बन्धी विषयलाई लिएर आम जनता तथा समर्थकहरूलाई अनावश्यक रूपमा आत्तिनु पर्ने कुनै आवश्यकता छैन भनी बताउँदै
भाजपा सधैं जनताको हक, अधिकार र सुरक्षाको पक्षमा दृढ रूपमा उभिएको छ भनी बताएका छन्। उनले स्पष्ट पार्नु भयो कि पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ र जनहित विपरीत कुनै निर्णय हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस विषयमा जनतालाई संयमित र सचेत रहन अनुरोध गर्दै अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेका छन्।

About Author

Advertisement